खासमा माैद्रिक नीति भनेकाे चाहीँ के हाे र किन महत्वपूर्ण मानिन्छ ?
- गाउँ सहर डेस्क
- ११ श्रावण शुक्रबार, २०८१ | १३:२७:०० मा प्रकाशित

काठमाडाैं । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
कुनै पनि राष्ट्रका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोतमा वित्तीय स्रोत पर्छ।
त्यो स्रोतलाई मुलुकको उत्पादन, रोजगारी अनि वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई पनि बलियो बनाउने उद्देश्य लिएर निर्माण गरिने नीति नै मौद्रिक नीति हाे । यसले ब्याज दरको कुरा गर्छ र विनिमय दरको विषयमा पनि केही कुरा गर्छ। सबै कुरालाई सञ्चालन गरेर अर्थतन्त्र सहज रूपमा सञ्चालन गर्नको निमित्त अनुकूल वातावरण बनाइदिने लक्ष्य मौद्रिक नीतिको हो ।
सामान्यत: बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्छ । सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउने काम राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्दै आएको छ । खासगरी कुनै निश्चित आर्थिक उद्देश्य प्राप्त गर्नका लागि मौद्रिक नीति ल्याइन्छ ।
सरकारले ल्याएको बजेटको लक्ष्य पूरा गर्न मौद्रिक नीतिले सहयोग पुर्याइरहेको छ कि छैनन् भन्ने कुरा केन्द्रीय बैंकले नियालिरहेको हुन्छ ।
त्यसैले हरेक ३ महिनामा यसमाथि समीक्षा गरिन्छ । यसमा अर्थव्यवस्थाको स्थिति हेर्दै राष्ट्र बैंकले आवश्यक निर्णय लिने गर्छ । यसको असर अर्थव्यवस्थामा पर्छ ।
कुनै व्यक्तिले ब्याङ्कबाट ऋण लिए, कारोबार गरे वा बचत ब्याङ्कमा निक्षेप गर्दा तय हुने ब्याज दर सबैमा मौद्रिक नीतिको प्रभाव हुन्छ।
त्यस्तै मुद्रास्फीति अर्थात् बजार महँगीमा पनि मौद्रिक नीतिको भूमिका उल्लेख रहने मानिन्छ।
मौद्रिक नीति बजेटभन्दा कसरी फरक ?
मौद्रिक नीतिले ब्याज दर सम्बन्धित कुराहरूलाई दृष्टिगत गर्दै नीतिनिर्माण गर्छ भने बजेटको उद्देश्य राजस्व वृद्धि तर्फ केन्द्रित हुन्छ।
बजेटमार्फत् सरकारले लक्ष्यअनुसार खर्च गरेर नतिजा प्राप्त गर्नेगरी नीति सार्वजनिक गर्छ।
अर्थ-राजनीतिक दस्तावेजका रूपमा समेत हेरिने हुँदा बजेटमा लोकप्रियवादी कार्यक्रमहरू पनि समावेश गरिएको हुन्छ।
त्यसता कार्यक्रममा हुने खर्चले मुद्राको मूल्य कायम राख्न चुनौतीपूर्ण हुन जान्छ।
वस्तु र सेवा स्थिर रहने तर रकमको उपलब्धता सहज भएर खर्च गर्न सक्ने अवस्था हुँदा बजारमा मूल्य वृद्धि हुन जान्छ।
मुद्राको मूल्य कायम गर्ने केन्द्रीय ब्याङ्कको भूमिका रहने हुँदा उसले मौद्रिक नीतिमार्फत् बजारलाई सन्तुलनमा राख्नेगरी नीति सार्वजनिक गर्ने बताइन्छ।
सरकारले वित्तनीतिमार्फत् सर्वसाधारण जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुहरू समेत उठान गरेको हुन्छ।
बजेट र अर्थतन्त्रको समष्टिगत अवस्था हेरेर चालु आर्थिक वर्षका लागि तुलनात्मक रूपमा 'कडा मौद्रिक नीति सार्वजनिक हुने' आकलन गरिएको छ।
केन्द्रीय बैंकले अर्थव्यवस्थामा कसरी यसको प्रयोग गर्छ ?
१. अर्थव्यवस्थामा ब्याजदर, माैद्रिक र विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र तथा भुक्तानी प्रणालीकाे सुदृढीकरण, वित्तीय पहुँचजस्ता पक्षमा मौद्रिक नीतिको जोड हुन्छ । यी सबै विषयमा नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्तिमा सरकारलाई सघाउ पुर्याउनु नै मौद्रिक नीतिको प्रमुख उद्देश्य हो ।
२. मौद्रिक नीति यस्तो अस्त्र हो, जसको मद्दतबाट राष्ट्र बैंकले अर्थव्यस्थामा पैसाको आपूर्तिलाई नियन्त्रित गर्ने गर्छ ।
३. मौद्रिक नीतिमा अर्थतन्त्रका थुप्रै महत्त्वपूर्ण योजना निर्भर हुन्छन् । महँगीमा अंकुश, मूल्यमा स्थिरता, टिकाउ आर्थिक विकास दरको लक्ष्यजस्ता कुरालाई मौद्रिक नीतिले समेटेको हुन्छ । रोजगारीका अवसर सिर्जना गर्नु पनि यसका उद्देश्यहरूमध्ये एक हो ।
४. अर्थव्यवस्थामा पैसाको आपूर्तिमा बैंकको क्यास रिजर्भ रेसियो वा ओपन मार्केट अपरेसनले सिधा असर गर्छ । रिपो रेट र रिभर्स रिपो रेटमार्फत कर्जाको लागतलाई बढाउन वा घटाउन सकिन्छ ।
५. राष्ट्र बैंकले मौद्रिक नीतिमा प्रमुख ब्याज दरलाई घटाइदिएका बेला यसबाट अर्थव्यवस्थामा पैसाको आपूर्ति बढ्ने बाटो खुल्छ । बजारमा नगद बढेपछि आर्थिक गतिविधि पनि बढ्छ ।
५. केन्द्रीय बैंकले ब्याज दर बढाउँदा अर्थव्यवस्थामा नगदको मात्रा घट्न जान्छ । यसले उत्पादन र खपत दुवैमा विपरीत असर पार्छ । सँगै अर्थव्यवस्थाको रफ्तार पनि घट्छ ।
मौद्रिक नीतिबाट सर्वसाधरण के अपेक्षा राख्छन् ?
बजेटले जस्तै मौद्रिक नीतिले पनि सर्वसाधारणलाई प्रभाव पार्ने भएकाले यो जनचासोको विषयमा समेत पर्ने गर्छ। मौद्रिक नीतिले विशेष गरी देशको वित्तीय क्षेत्रका विभिन्न नीति– नियमहरू एकीकृत ढङ्गले समेटेको हुन्छ। मौद्रिक नीतिले ब्याजदरलाई निर्धारण गर्ने भएकाले कर्जा लिने/निक्षेप राख्नेहरुले अझ विशेष रुपमा लिने गर्छन्। मुद्रास्फीतिकाे कारण पनि यो सर्वसाधरणको विशेष चासोमा पर्छ।
महँगी नियन्त्रणमा मौद्रिक नीतिले कस्तो प्रभाव पार्छ भन्ने विषय पनि आम चासोको विषय हो ।
साथै, सर्वसाधरणकाे मुख्य अपेक्षा मौद्रिक नीतिले वाणिज्य बैंकहरुबाट सहजै कर्जा पाउने चाजोपाजो राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् मिलाइदियोस् भन्ने धारणा आम सर्वसाधरणमा भएको पाइन्छ।
यसैगरी, राष्ट्र बैंकले माैद्रिक नीति मार्फत् स्वाराेजगार सम्बन्धी व्यवस्था गराेस् भन्ने अपेक्षा पनि सर्वसाधरणकाे हुन्छ। राष्ट्र बैंकले मूल्यवृद्धि वा महँगी मापन गर्न विभिन्न वस्तु तथा सेवा क्षेत्रको छुट्टाछुट्टै नीति बनाएको हुन्छ। आगामी दिनमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले दिने ऋणको ब्याज घट्छ कि बढ्छ?
बैंकमा पैसा जम्मा गर्दा पाइने ब्याज घट्छ कि बढ्छ? बैंकसँग ऋण लिएर व्यवसाय गर्न ऋण पाइएला कि नपाइएला ? महँगी घट्ला या बढ्ला ? जस्ता आम सर्वसाधरणसँग जोडिएका प्रश्नको जवाफ मौद्रिक नीतिले दिन्छ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
- तपाईंकाे ऋण छ अनि कसरी तिर्ने तनावमा हुनुहुन्छ ?
- राप्रपाले बिराेध नगरेकाे संविधान दिवस
- आज जनैपूर्णिमा पर्व मनाइँदै, यी हु्न् जनै धारण गर्नाले शरीरमा हुने फाइदा
- जनै खटिरा किन र कस्ता मानिसलाई आउँछ, के छ उपचारकाे उपाय ?
- कण्डमबारे राेचक इतिहास र यस्ता छन् फाइदा/बेफाइदा
प्रतिकृया दिनुहोस