ब्लग

जिनएजी आन्दोलनका दाजु–दिदीहरूलाई अल्फा पुस्ताकाे खुला चिठी

आदरणीय जेन-जीका दाइ तथा दिदीहरू, नमस्कार 

म कक्षा ५ मा पढ्ने सानी बालिका शिवांशी खड्का हुँ । मेरो उमेर १० वर्षको छ, तर मेरो मन ठूलो सपना बोकेर बाँचिरहेको छ-शान्त, सुरक्षित र खुसी नेपालमा पढ्ने, खेल्ने र रमाउने सपना। तर भदाै २३ मा तपाइँहरूले नयाँबानेश्वरमा गरेको प्रदर्शनपछि त्यसपछि देशैभरि उत्पन्न भएको घटनाले मेरो बालमन निकै दुःखी भएको छ। सर्वप्रथम त यस आन्दोलमा मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु भने घाइतेहरूको छिटो निको होस् भन्ने प्रार्थना गर्दछु ।

मलाई केही भन्न मन लागेर म याे चिठीमा यी केही कुरा तपाइँहरूलाई अनुरोध गर्दैछु  । भदौ २३ र २४ गते बानेश्वर र देशैभरी भएको घटना केवल सामान्य विरोध होइन, नेताहरूप्रति तपाईंहरूको ठूलो असन्तुष्टि र आक्रोशको परिणाम थियो। तपाईंहरूलाई लाग्यो-नेताहरूले देश र जनताको विश्वास तोडे, आफ्नै स्वार्थका लागि मात्रै काम गरे। त्यसैले तपाईंहरू रिसाउनु भयो, सडकमा उत्रिनुभयो, र त्यो रिस पोखिँदा पचास भन्दा बढिले जनाले ज्यान गुमाए । कयौँ घाइते भए ।

ऐतिहासिक भवन सिंहदरबारदेखि संसद भवन, अदालत, अख्तियार, राष्ट्रपति र प्रधानमन्त्री बस्ने ठाउँ लगायत धेरै सरकारी ठूला भवनहरू जले । ती भवनहरू हाम्रो मुलुकका गौरव थिए। तर ती धुवाँ र आगोमा हराए। कैयौँ महत्वपूर्ण कागजातहरू खरानी भए । भाटभटेनी लगायत निजी सम्पत्ति अरबौँको क्षति भयो । छानि छानि नेता र व्यापारीहरूका घर मात्रै जलाइएन केही मानिसहरूसमेत भित्रै जलाइए ।

म सानी भए पनि बुझ्छु—तपाईंहरूको असन्तुष्टि सायद उचित थियो। नेताहरूले जनताको पीडा नबुझ्दा, जनतालाई बेवास्ता गर्दा रिस उठ्छ नै। यसक्रममा जति जनाले ज्यान गुमाउनुभयो त्यो केवल अंकजस्तो लाग्न सक्छ तर त्यस अंकभित्र आमा–बाबाको आँसु, ती घर परिवारको अधुरो कथा, सपना खोसिएको छ। कतिको सिन्धुर पुछिएको छ । कति बच्चाहरू अनाथ भएका छन् । साना–साना बच्चाले आफ्नो बाबाको अनुहार अन्तिम पटक देख्न पनि पाएनन्। आमा बुबाले सन्तानको चिहान अगाडि रुनुपर्‍यो। भाइबहिनीले दाजु दिदीको साथ गुमाए । यो दृश्य सम्झँदा मेरो बाल मन काँप्छ।

त्यो दिन भाटभटेनीलगायत पसलहरू, निजी घर–सम्पत्ति पनि जलाइए। व्यापार गरेर घर चलाउने मान्छेको पसिना र रगतले जोडिएको सम्पत्ति आगोमा खरानी बनाइयो। त्यहाँ सामान जल्दा मान्छेको आशा पनि जल्यो।

मैले भिडियोमा देखेँ- नेताहरूका घरमा आक्रमण भयो, उनीहरूलाई कुटियो। म सानी भए पनि बुझ्छु—क्रोधले समस्या समाधान गर्दैन। कसैको घर जलाउने, कसैलाई कुट्ने, कसैलाई अपमान गर्ने कामले देश अझ अँध्यारोमा धकेल्छ। मैले देखेको लाजमर्दो कुरा भनेको आगजनी, लुटपाट चोरी गर्नेमा सबैभन्दा धेरै जेनजी उमेरका दाइदिदीहरू नै हुनुहुन्थ्यो भने हामीजस्ता साना साना बालबालिकादेखि हजुरबा हजुरआमाले समेत सार्वजनिक र निजी व्यक्तिहरूका घरका र भाटभटेनीबाट गौरबकासाथ सामानहरू बोकेर घरतिर गएको दृष्यले मलाइ झन् नरमाइलो लाग्यो । आन्दोलनमा घुसपैठ भएपनि लुट्ने र लुटिने त नेपाली नै हो नि । यी कुरा त विश्वभर नै सबैले देखे नि । अनि हाम्रो समाज कस्तो भइरहेको रहेछ, कस्तो संस्कारमा हुर्कदै रहेछ भन्ने लाजमर्दो अवस्था देखियो । जसको म खेद प्रकट गर्दछु ।

प्रिय जेनजी का दाजु तथा दिदीहरू, आन्दोलनको नाममा भएको यो हिंसाले मेरो मनभित्र धेरै प्रश्नहरू जन्मायो।
- के अधिकारका लागि खोजिएको बाटो यत्ति हिंस्रक हुनुपर्थ्यो ?
- के समस्याको समाधान आगो र रगतले सम्भव हुन्छ ?
- के हाम्रो देश शान्ति होइन, हिंसाको बाटोमा हिँडेर बलियो हुन्छ ?
-के अबको १० होइन  बीसौँ वर्षपछि हामीले यस्तो आन्दोलन गर्नुपर्दैन भन्ने ग्यारेन्टी गर्न सक्नुहुन्छ ? 

हो, त्यो तपाइँहरूले गराउनैपर्छ । अब पनि नगरे कति पुस्ता लडिरहने । मलाई लाग्छ-आन्दोलन गर्दा मान्छेले आफ्नो रिस बाहिर निकाल्छ, तर त्यसको पीडा त निर्दोषले भोग्छ। जति जनाको मृत्यु भयो त्यसले केवल परिवार मात्र होइन, सिङ्गो मुलुकलाई शोकमा डुबायो। हामीहरूले विद्यालयमा जान पाएका छैनौँ, चोकमा आर्मी बन्दुक बोकेर बसको देखेँ । यसअघि मैले त्यस्तो कहिल्यै देखेको थिइँन ।

प्रधानमन्त्री केपी ओलीले फेसबुक र युट्यूब बन्द नगरेको भए सायद यस्तो हुँदैनथ्यो कि । किन बन्द गरेको त मलाइ थाहा भएन तर बन्द हुँदा हामीले खेल्ने मात्र होइन पढ्न खोज्ने धेरै कुराबाट पनि बन्चित भएका थियौँ ।

अहिले हामी डराएका छौँ । साथीहरू डराएका छन् । हामीले विद्यालय गएर पढ्न पाएका छैनौँ । आमाबुबाले छोरी, घरबाट बाहिर ननिस्क भन्नुहुन्छ । सुरक्षित रह भन्नुहुन्छ । यो त्रासले बालबालिकाको भविष्यलाई अँध्यारो बनाएको छ।

म सानी भए पनि एउटा कुरा पक्का जान्छु—हिंसा कहिल्यै समाधान होइन। नेताहरू, कार्यकर्ताहरू, आन्दोलन गर्ने दाइदिदीहरूलाई मेरो अनुरोध छ—अब देशमा यस्तो अवस्था कहिल्यै पनि नदोहोरियोस्।

कृपया, अब मान्छेको ज्यान लिने आन्दोलन नगरौँ, । देशका गौरव–संरचना जलाउने काम नगरौँ । निर्दोषको पसिना–रगतले जोडेका सम्पत्ति जलाउने काम नगरौँ। समस्या समाधानको बाटो संवाद हो, सहकार्य हो, सहमति हो। हिंसा होइन।

हामी साना बालबालिकाको इच्छा धेरै ठूलो छैन। हाम्रा लागि विद्यालय निरन्तर खुलोस् । आमा–बाबा डराएर होइन, खुसी भएर काम गर्ने अवस्था होस् । सडक, आकाशमा धुवाँ देख्न नपरोस् ।

हामी चाहन्छौं-नेता मात्रै होइन कसैको घर जल्ने होइन, नयाँ घर निर्माण देख्न पाइयोस् ।
हामी चाहन्छौं-सिंहदरबार धुवाँमा हराउने होइन, त्यहाँबाट न्याय र विकासको नीति आओस् ।
हामी चाहन्छौं-संसद भवन आगोले जल्ने होइन, त्यहाँबाट हाम्रो भविष्य उज्यालो पार्ने कानून बनोस् ।
जहाँ आन्दोलन शान्तिपूर्ण हुन्छ, जहाँ विरोध प्रदर्शन संवादमै सीमित हुन्छ, जहाँ मान्छेले ढुङ्गा होइन,  कलम र आवाज उठाउँछन्, तब भोलिका पुस्ताले अँध्यारो होइन, उज्यालो पाउँछन्।

अन्तमा, आदरणीय जिएनजी दाइदिदीहरू मात्रै होइन हजुरबा( हजुरआमा, ठूलोबा, काकाकाकी सबैजना नेताज्यूहरूलाइ म भन्न चाहन्छु- तपाईंहरूको संघर्ष र अधिकारका कुरा सायद उचित हो, तर त्यसलाई प्राप्त गर्ने बाटो गलत भयो भने त्यसले सबैलाई पीडा दिन्छ। बानेश्वरको घटनाले देखायो-हिंसाले केवल आँसु र विनाश जन्माउँछ। परिवर्तन पनि ल्याउला तर त्यसलाइ सफलतामा पुर्याउन सक्नुभएन भने हामी अल्फा जेनेरेसनले फेरि तपाइँहरू विरूद्ध ५र१० वर्षमै यस्तैगरि आन्दोलन गर्नुपर्यो भने त के मज्जा भयो र ?

त्यसैले अब मानवीय र भौतिक क्षति कहिल्यै नहोस् । फेरि हामी बालबालिकाले डराएर पढ्न नपरोस् । फेरि आमाबुबाले छोराछोरी, धन सम्पत्ति गुमाएर रुन नपरोस् र नेपाल अँध्यारोमा नडुबोस्। हामी ६र७ वर्षपछि पढ्न वा काम गर्न विदेश जान नपरेस् । त्यसका लागि तपाइँको पुस्ताले सरकार, राज्य र पार्टीहरूलाइ अहिले नै खबरदारी गर्नुहोला मेरो विनम्र अनुरोध । यो मेरो मात्र होइन मेरो अर्थात अल्फा पुस्ताको अनुरोध हो। कृपया, अब हामीलाई उज्यालो भविष्य दिनुहोस्। हाम्रो सानो बाल मनको आवाजलाई बेवास्ता नगर्नुहोस्। म तपाइँहरूलाइ फेरि प्रश्न चाहिँ गरिनै रहन्छु ।

शान्तिपूर्ण भविष्यको आशामा,
उही अल्फा पुस्ताकी बहिनी 
शिवांशी खड्का, रिलायन्स इन्टरनेशनल एकेडेमी

बुढानीलकण्ड-काडमाडाैं कक्षा–५

तपाईँको मत