खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । 

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका र ३ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।  

नेपाललाई पहिलो सफलता सागर ढकालले दोस्रो ओभरमै दिलाए । पहिलो विकेटका रुपमा कडिम अलेइनलाई ६ बलमा ११ रन बनाएर पेभेलियन फर्काउन रोहित पौडेलले सानदार क्याच गरे । 

पहिलो विकेट पछि केहि सम्हालिएको वेस्ट इन्डिज ‘ए’ को थप दुई विकेट सागरले नै आठौ ओभरमा लिए । सो ओभरको पहिलो बलमा नै जोनसन चार्ल्स २० बलमा २४ रन बनाएर सागरद्वारा कट एण्ड बोल्ड आउट भए । सोहि ओभरको तेस्रो बलमा मार्क डेयाल पनि पेभेलियनको बाटो लागे । डेयाल सुस्त इनिङ खेल्दै १९ बलमा ११ रन बनाएर रोहितद्वारा क्याच आउट भए । 

चौथो विकेटका लागि ४४ रनको साझेदारी गरिसकेपछि कप्तान रोस्टन चेज अविनाश बोहोराको शिकार बने । १४औ ओभरमा चेज २३ बलमा ५ चौकासहित ३३ रन बनाएर सन्दिप जोराद्वारा समातिए ।   

पाचौ विकेट सोमपाल कामीको १७औ ओभरमा म्याथ्यु फोर्डको रुपमा आयो । फोर्डले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ छक्कासहित २३ रन बनाएर कुशल भुर्तेलको हातबाट लङ-अनमा क्याच आउट भए ।

छैठौं विकेट पनि सोमपालकै नाममा रह्यो । १९औ ओभरमा फेबियन एलेन ३ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए । तीन बलको अन्तरालमा सोमपालले गुडकेश मोतीलाई १ रनमा बोल्ड गरे । अथान्जे ४२ र हेडन वाल्श ७ रनमा अविजित रहे ।

नेपालका लागि सागर ढकालले २ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले पनि ४ ओभरमा १६ रन मात्र दिएर समान ३ विकेट नै लिए । अविनाश बोहोराले ४ ओभरमा ४९ रन दिँदै १ विकेट आफ्नो नाम गराए । 

३ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले महंगो सावित हुंदै ३९ रन दिएर कुनै विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन खर्चिए । कुशल भुर्तेलले भने ४ ओभरमा कुनै विकेट नलिएपनि २५ रन मात्र दिन सफल रहे ।     

नेपालले पाँच खेलको सिरिज ३-१ ले गुमाइसकेको छ । नेपालले गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । चौथो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो ।

नेपालले आज पछिल्लो खेलमा हार बेहोरेको टोलीबाट दुई परिवर्तन गरेको छ । पछिल्लो खेलबाट गुलशन झा र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् भने टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा आएका छन् ।

वेस्ट इन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ । आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टोलीमा आएका छन् ।

विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल रहेको छ । टोली आजको खेल पछि नै विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत