गाउँ सहर

बिदेश नै बस्ने गरि एक वर्षमा झण्डै ७१ हजार नेपाली गए

काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।

विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए ।

उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार  ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए ।

महानिर्देशक तामाङले यसरी  पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको दाबी गरे । उनले दुई लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको सङ्ख्या समावेश नभएको बताए । उनले सन् २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको बताए ।

महानिर्देशक तामाङले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा एक लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको जानकारी दिए । उनले भ्रमण तथा धार्मिक प्रयोजनका लागि एक लाख चार हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताए । उनले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताए ।

उनले अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गरे । उनले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गरे । उनले अध्ययन भिसा, कामदार भिसा, रिटायरमेण्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिसाहरू थप्नु पर्ने अवस्था रहेको बताए । उनले १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएको बताए ।

महानिर्देशक तामाङले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको बताए । उनले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निष्कासन गरिएको बताए । उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरूको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत