गाउँ सहर

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, एक वर्षमा २० हजारभन्दा बढी घटना

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ। ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो । 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सरकारले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालनको निर्णय गर्नुका साथै अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गरिने छ । 

एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् ।

एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका प्रहरीको तथ्याङ्क छ।

प्रहरीको तथ्याङ्कअनुसार एक वर्षमा भएका तीन हजार ४०३ यौनजन्य हिंसाका पीडितमध्ये ६३ प्रतिशत अर्थात दुई हजार १७२ बालिका छन् ।

यसैअनुसार नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान  शुरु भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत