गाउँ सहर

आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने, सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडाैं । इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैअनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । 

इजरायल-प्याल्स्टाइन युद्धको चपेटामा परी विद्यार्थीको निधन भएकोले विश्ववियालयले आज शोक बिदा दिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायबाट इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये हमास समूहको आक्रमणमा १० जना विद्यार्थीले ज्यान गुमाएका थिए । सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले हिजो एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत