गाउँ सहर

नेपालगञ्जमा दिनभरका लागि निषेधाज्ञा हट्यो

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबार निषेधाज्ञा खुकुलो बनाइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए। उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको थियो।

आज राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपील समेत गरेको छ।

बुधबार जिल्ला प्रसासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिश गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो। बैठकले सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्‍याली आयोजना गर्नेसमेत निर्णय गरेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत