गाउँ सहर

चीन र नेपालबिच भए यस्ता द्विपक्षीय सम्झौता

काठमाडाैं । नेपाल र चीनबीच विभिन्न १२ वटा विषयमा सम्झौता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच भएको प्रतिनिधि मण्डलस्तरीय भेटवार्तापछि विभिन्न १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा उक्त सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो। 

विकास पूर्वाधार, कृषि, पर्यटन, विद्युतलगायत विभिन्न परियोजना समेटिएका सम्झौतापत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ । १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको छ ।

यस्ता छन् समझदारी र सम्झौता
नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयकोबीचमा विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउने विषयमा सम्झौता भएको छ।

त्यसैगरी कृषि, पशुपालन र मत्स्यपालन विकासका लागि चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ।

दुई देशबीच सन् १९८१ को नेपाल-चीन व्यापार सम्झौताको समीक्षाका लागि संयुक्त प्राविधिक समूह निर्माण गर्ने समझदारी भएको छ। उक्त सम्झौताको समीक्षाका लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्ने भएका छन्। 

त्यस्तै चीनमा औषधि उत्पादनका लागि नेपालको जडीबुटी निर्यात अघि बढाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ।

दुई देशबीचमा एकअर्का पुरातात्विक महत्वका कृतिहरु प्रकाशन र अनुवाद गर्ने समझदारी भएको छ। जसका लागि चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काम गर्ने भएका छन्। 

त्यसैगरी चीनको राष्ट्रिय विकास  तथा पुनर्संरचना आयोग र नेपालस्थित राष्ट्रिय योजना आयोगबीच साझेदारी गरेर अघि बढ्ने समझदारीमा पनि हस्ताक्षर भएको छ। 

दुई देशले हिमाली क्षेत्रका उत्पादन तथा जैविक पदार्थबारेको सन् २०१७ मा भएको सहमतिसम्बन्धी प्रमाणपत्र आदान प्रदान गरेका छन्।

त्सैगरी चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपाको अर्थमन्त्रालयबीचमा डिजिटल अर्थव्यवस्थासम्बन्धी समझदारीमा हस्ताक्षर गरेको छ।

चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्वन उत्सर्जनसम्बन्धी अर्को समझदारीमा पनि हस्ताक्षर भएको छ।

दुई देशबीचमा यसअघि सिजाली उच्च माध्यमिक विद्यालय परियोजना अघि बढाउने सम्झौतामा पनि हस्ताक्षर भएको छ।

प्रचण्डको भ्रमणका क्रममा दुई देशबीच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र पनि आदान प्रदान भएको छ।

दुई देशले मानवीय स्रोत आदान प्रदानबारे पनि समझदारी गरेका छन्। 

त्यस्तै हिल्सा-सिमकोट सडक परियोजना अघि बढाउने कुरामा पनि समझदारी गरेका छन्। 

गाउँ सहर संवाददाता

तपाईँको मत