भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- गाउँ सहर संवाददाता
- २७ बैशाख शनिबार, २०८२ | १९:५८:०० मा प्रकाशित

काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्।दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ ।
विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र भारतीय डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको र उनीहरुबीच भारतीय समय अनुसार साँझ पाँच बजेदेखि जमिन, आकाश र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।”
उनले भने, “दुवै पक्षलाई आजैदेखि यो समझदारीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।सैन्य अपरेसनका महानिर्देशकहरूबीच मे १२ मध्यान्न १२ बजे फेरि कुरा गर्नेछन् ।”
यसअघि शनिबार एक प्रेस ब्रिफिङका क्रममा मिश्रीले पाकिस्तानले भारतविरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताएका थिए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै भने, “पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएका छन् ।”
उनले भने, “पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ।”
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताएका थिए ।
अमेरिकी विदेशमन्त्री रूबियोले भने, “बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्कर, सेनाप्रमुख असिम मुनीर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ ।”
उनले अगाडि भने, “भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थलमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्दछौँ ।”
यसअघि गत मे २ मा पहलगाममा भएको आतङ्ककारी हमलाको जवाफमा भारतले मे ७ मा अप्रेसन सिन्दूर चलाएको थियो।उक्त आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो भने पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रतिमा साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस