गाउँ सहर

सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा, गौरा भित्र्याइयो

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो ।

गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ ।

यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् ।

उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ ।

त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ ।

गौरा भित्र्याइयो

सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्त्वका साथ हेरिन्छ । हिन्दू महिलाले सामूहिकरूपमा नजिकैको खेतमा गएर गौराको प्रतिमा तयार पारी माङ्गल गीत र फाग गाउँदै भित्र्याउने गर्छन् । 

भाद्र पञ्चमी तिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँचथरीका गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्व औपचारिकरूपमा सुरु भएको मानिन्छ । ‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । व्रत बसेका महिलाले सामूहिकरूपमा सप्तमी र अष्टमीका दिन गौरी र महेश्वरको पूजा गर्ने गर्छन् । 

पूजा गर्नुअघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरूपमा पधेँरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ । यसलाई ‘नोलाई’ (धारा पधेँरा) गौरा भनिन्छ । पूजा गर्दा अक्षताका रूपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गेडागुडी) को विशेष महत्त्व हुन्छ ।

‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रूपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । 

पूजाको काम सकिएपछि हरेक दिन माहिला पुरुष छुट्टाछुट्टैरूपमा गोलबन्द भई चैत, धमारी, देउडा र खेल खेलेर रमाउने गर्छन् । चैत र धमारीसम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिरूपमा महत्त्वपूर्ण स्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्त्व दर्शाउने गरेको जानकार बताउँछन् ।

 गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख, शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ–आफ्नो घाँटीमा धारणा गर्ने चलन छ । यो दुब–धागो गौरादेवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्न पाउने परम्परा छ । 

यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने इष्ट कुलदेवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कूशासनविरुद्ध देउडा खेलका मध्यमबाट तिखो व्यङ्ग्य गरिने हुँदा यसले समाजलाई सही बाटोमा डोर्याउन मद्दत पुर्याउने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।  

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वतीदेवी (गौरा)को पूजाको फलस्वरूप ब्राह्मणीले तेजिलो पुत्रलाभ गरेकीले गौरालाई सर्वशक्तिमान् भएको विश्वासमा यो पर्व मनाउने गरिएको धनगढीका ज्योतिष मनिराज जोशी बताउँछन् । सरकारले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

 देउवा निवासमा गौरा 
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा आज विधिपूर्वक गौरा भित्र्याइएको छ । देउवाकी धर्मपत्नी डा.आरजु राणा देउवा गौरा पर्व मनाउन केही दिनअघि धनगढीस्थित आफ्नो निवास पुगेका थिए । गौरा मनाउन उनको निवासमा स्थानीय महिला भेला भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा भाद्र शुक्ल पक्षको अष्टमी अथवा भाद्र कृष्णपक्षको अष्टमीका दिन गौरा भित्र्याउने परम्परा रहे पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णयअनुसार आज साउन शुक्लपक्ष अष्टमीका दिन गौरा भित्र्याइएको जोशीले बताए । कतिपय ठाउँमा भने भदौ २१ गते गौरा भित्र्याउने तयारी गरिएको उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत