१०० किलो अवैध सुन प्रकारणमा भन्सार विभागले बनायो छानबिन समिति
- गाउँ सहर संवाददाता
- ४ श्रावण बिहीबार, २०८० | १३:३६:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम खड्काले गाउँसहरलाई जानकारी दिए ।
विभागका निर्देशकसमेत रहेका प्रवक्ता खड्काले भने, 'अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । यस प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । तर भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो ।'
प्रवक्ता खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको करिब १०० किलो सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
‘ब्रेक प्याड’ १६० सेट मगाउने कम्पनी हो– ‘रेडी ट्रेड प्रालि ।’ सो कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।
सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस