राजनीति

अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए ।

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्ने कुरा पहिल्यै थाहा छ । यो नभए यो भूतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन कि नेपालमा नयाँ प्रधानमन्त्री बन्न सक्छ,' उनले भने, 'किनभने प्रधानमन्त्री बन्ने कुरा भूतपूर्व क्लबकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरु यस्ता भए । नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोसिस गरेको हो ।'

आफू अब पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनले बताए । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताए ।

'म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन,'उनले भने, 'त्यस कारणले गर्दा फेरि का‌ंग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ । बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ ।’

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनले बताए ।

गाउँ सहर संवाददाता

Shiva Rai लेख्नुहुन्छ २३ असार, २०८० १०:१८ pm

अझ संसद नि १ पटक भन्दा बढी हुन नपाए झन राम्रो होला

तपाईँको मत