विद्युत

समझदारी कार्यान्वयन नभए वर्षायाममा एक हजार मेगावाटसम्म विद्युत् खेर जाने जोखिम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो ।

प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने उनले बताए । केही विद्युत् आयोजना र प्रसारण लाइन मर्मतका काम नसकिएकाले आइतबार निर्यात नहुने उनले जानकारी दिए । 

“मर्मतको काम सकियो भने हाम्रो उत्पादन बढ्दै जान्छ र सोही अनुसार निर्यात परिमाण पनि बढाउँदै लैजान्छौँ,” उनले भने, “सोमबारदेखि अवस्था हेरेर निर्यात निरन्तर गर्ने प्रयास हुनेछ ।” प्रतियुनिट औसत सात रुपियाँका दरले निर्यात भएको हो । 

प्राधिकरणले गत वर्ष पुस ३ गतेदेखि निर्यात बन्द गरेको थियो । प्राधिकरणले गत वर्ष जेठ १९ गतेबाट विद्युत् निर्यात सुरु गरेर पुस ३ सम्ममा करिब ११ अर्ब १६ करोड ३० लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री  सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट छ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री  गरिएको थियो । 

प्राधिकरणले गत वर्ष कात्तिकमा थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । आगामी असार मसान्तसम्म करिब २८ सय मेगावाट जडित क्षमता पुग्दै छ । विद्युत् उत्पादन बढ्दो भए पनि पिक डिमान्ड भने १४ सय मेगावाटको आसपास रहन्छ । प्राधिकरणले हालसम्म १० वटा जलविद्युत् आयोजनाको ४५२.६ मेगावाट विद्युत् विद्युत् इन्डियन इनर्जी एक्सचेन्जमा निर्यातको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले यस्तो अनुमतिलाई हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान राखेको छ । प्रवक्ता भट्टराईका अनुसार आइइएक्समा विद्युत् निर्यातका लागि नवीकरणका अतिरिक्त थप आयोजनाबारे पनि प्रक्रिया  भने चलिरहेको छ ।

प्राधिकरणले बढी भएको विद्युत् निर्यात गर्न विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा पनि बिजुली पु-याउने पहल पनि जारी राखेको जनाएको छ । गत चैत पहिलो साता सम्पन्न नेपाल–भारतबिचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको थियो । विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरिएको थियो । यो सम्भव भयो भने नेपालले विहारसँग प्रसारण लाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ । विहारसँग कटैया (विहार)–कुशवा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत वर्ष फागुनको पहिलो साता सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौँ बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३ भित्र र अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो ।

विद्युत् आदानप्रदान समितिको बैठकले विद्युत् आदानप्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युत्को प्रतियुनिटदर ७.२१ भारतीय रुपियाँ (११ रुपियाँ ५४ पैसा) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत् आदानप्रदान दर तय भएको हो । आइइएक्समा दैनिक बिडिङ विधिबाट निर्यात गर्दा बजारको दिगो व्यवस्थापन नभएको भन्दै प्राधिकरणको आलोचना पनि हुँदै आएको थियो । विहारसँगको यो समझदारी कार्यान्वयनमा ल्याउन नसकिए यो वर्षको वर्षायाममा एक हजार मेगावाटसम्म विद्युत् खेर जाने जोखिम छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत