कला

लघुकथा : नयाँ वर्ष

  • गंगा खड्का
  • १ बैशाख शुक्रबार, २०८० | ०५:५८:०० मा प्रकाशित

"बाबा ! भोलि नयाँ वर्षमा घुम्न जाने त भनियो । तर टमीलाई कसको जिम्मा लाएर जाने होला ? कसले खानेकुरा खान दिन्छ त्यसलाई ? घरमा एक्लै बस्न त बोर हुन्छ नि त्यसलाई ! "

"टमीको चिन्ता नगर न बाबु । ऊ त हाम्रो घरको सदस्य नै भइहाल्यो नि । ऊ पनि हामीसँगै जान्छ ।"

रमिलाले नाति र छोराबिचको वार्तालाप सुनिन् ।

"यसपटक त हजुरआमालाई नि लाने होइन र बाबा ? हामी सबै गएपछि उहाँ घरमा एक्लै हुनुहुन्छ ।" सानी नातिनीले प्रस्ताव राखी ।

कुकुरलाई पनि लिएर जाने निर्णय र नातिनीको प्रस्तावले रमिलाको अनुहारमा आशाको जून लाग्यो ।

"हजुरआमालाई लगेर घाँडो मात्रै । रमाइलो गर्न छोडेर एक दिन हिँडेको ठाउँमा नि को बस्छ हजुरआमाको गोठालो ?"

एक्कासि बुहारी कर्काशा स्वरमा बोली ।

बुहारीका वचन सुनेपछि अर्ध शरीर पक्षघात भएर थला परेकी रमिलाको आँसुको मूल फुट्यो ।

उनको पक्षमा वकालत गर्दै नातिनीले भनी, "नयाँ ठाउँमा घुम्न जाँदैमा नयाँ वर्ष विशेष हुँदैन । आफ्नै घरका भगवानरुपी बुबा आमालाई माया र सम्मान गर्ने सोचमा परिवर्तन ल्याउन सके मात्रै नयाँ वर्ष खास हुन्छ ममी ।"

बूढानीलकण्ठ , काठमाडौँ

२०८०-१-१

तपाईँको मत