कला

लघुकथा: हिम्मत

  • गंगा खड्का
  • २४ भदौ शुक्रबार, २०७९ | २१:०२:०० मा प्रकाशित

म मेरा हजुरबुवालाई कुर्नको लागि हस्पिटल बसेको थिएँ । मेरा हजुरबुबाभन्दा वल्लो बेडमा एकजना आमा हुनुहुन्थ्यो । उहाँ दुर्घटनामा परेर भर्ना हुनुभएको एक महिना भइसकेको कुरा उहाँका परिवारजनले भन्नुहुन्थ्यो । उहाँको निकै जटिल अपरेसन भएको थियो । सायद अब उहाँले दाहिने खुट्टा टेक्न सक्नुहुन्न होला भनेर डाक्टरले पनि भनिसकेका थिए । तर उहाँले आफ्नो दुखाइ र पीडा कसैको अगाडि देखाउनु हुँदैनथ्यो । जतिखेर पनि आफ्ना व्यथा लुकाएर हँसिलो मुद्रामा देखिनुहुन्थ्यो । उहाँको यो व्यवहारले डाक्टर पनि उहाँको प्रशंसा मुक्तकण्ठले गर्नुहुन्थ्यो ।

एकदिन मैले उहाँसँग जिज्ञासा राखेँ, "आमा ! हजुरलाई कति दुखेको होला, चिन्ता पनि त्यत्तिकै लागेको होला । तर हजुरले सधैँ मुस्कानका साथ सबैलाई जितेर देखाइदिनुहुन्छ । हजुरको सहनशीलता र हिम्मत देखेर मलाई त अचम्म लागेको छ ।" "यसमा अचम्म मान्नुपर्ने कुरा के छ र बाबु ? जुन आमासँग आफ्ना छोराछोरी दु:खको बेलामा वरिपरि हुन्छन्, ती आमासँग संसारका सबै दु:ख झेल्ने हिम्मत हुन्छ । मेरो खुट्टा नटेकिएर के भयो त, मेरो बुढेसकालमा टेक्ने लठ्ठीहरु दरिला छन् । मेरा छोराछोरी दिनरात हस्पिटलमा मिलिजुली पालैपालो मेरो रेखदेखमा जुटेका देख्नुभएन ?"

बूढानीलकण्ठ, काठमाडौँ ।

तपाईँको मत