कला

लघुकथा : साथ

पूजा बिरामी भएर ओछ्यान परेकी धेरै भइसकेको थियो । उसका हातखुट्टा सद्दे होउन्जेल उसका पछि लाग्नेहरु बिस्तारै ओझेल पर्दै गएका थिए । छोराछोरी विदेश लस्किएका निकै भएको थियो । उसका लोग्ने आगामी चुनावको लागि टिकट पाउने ताकेतामा समाजसेवातिर दगुर्दैमा फुर्सद थिएन ।

चार बीस हिउँद काटिसकेकी बूढी आमाले फोनमा कुरा गर्दै भनिन्, "के गर्नु नानी आफू फोन थिच्न जान्दिनँ, बल्ल बल्ल अरुले फोन लाइदे भने गफ गर्न पाइन्छ, तँलाई भेट्न आउन नि सक्दिनँ । हात खुट्टा रहिहाले । अहिले नि तँ एक्लै त होला नि, होइन नानी ?"

"मेरो चिन्ता नगर्नु न आमा, मेरो साथमा चौबीसै घण्टा बगेर साथ दिने आँसु छँदै छ नि । मान्छेको साथ पाउन त कि काम कि दाम चाहिने रहेछ ।"

बूढानीलकण्ठ, काठमाडौँ २०७९-२-२१

तपाईँको मत