कला

लघुकथा : लक्ष्मी

  • गंगा खड्का
  • ७ कार्तिक सोमबार, २०७९ | १५:३७:०० मा प्रकाशित

"होइन, आजकालका बुहारीहरु पनि के भएका होलान् ? घाम झुल्किन नपाई बजार गएकी बुहारी अहिलेसम्म आउन्न त ।" रमा भित्रभित्रै मुर्मुरिइन् । उनी घरीघरी बुहारीको बाटो हेर्न थालिन् । बुहारी आइपुग्नासाथ के के न गरुँला भन्ने मुद्रामा प्रस्तुत भइन् ।

केही बेरपछि बुहारी आइपुगिन् । "झन् चाँडै आऊ है बुहारी, लक्ष्मीपूजाको तयारी गर्नुपर्छ भनेर पठाएको बुहारी त साँझमा पो भित्र पस्न आउँछे त ।" उनी फतफताउँदै भित्र पस्न लागिन् ।

"आमा ! नरिसाउनु न । म लक्ष्मीलाई नै खुसी पार्न नै गएकी थिएँ आमा ।" बुहारीले मीठो मुस्कान छरिन् ।

"के नचाहिने कुरा गरेकी, कहाँ गएर आयौ र लक्ष्मी खुसी पार्नलाई ?"

उनको असहज प्रश्नलाई सहज बनाउँदै बुहारीले भनिन्, "म माइती गएर आएकी आमा । वास्तवमा आफूलाई जन्म दिने आमा नै देवी, लक्ष्मी र सरस्वतीका रुप हुन् । त्यसैले लक्ष्मीपूजा गर्नुअगाडि साक्षात लक्ष्मीको दर्शन गर्न गएको थिएँ ।"

बुहारीको कुरा सुनेर रमाले अझै रिसाउँदै भनिन्, "माइती जान पाए पुगिहाल्यो नि । घरमा काम गर्ने त म छँदै छु नि ।"

"आमा ! त्यसरी मन सानो नबनाउनुहोस् न । हजुर पनि कहाँ कम हुनुहुन्छ र ? हजुर त झन् मेरो पतिपरमेश्वरकी जन्मदाता र मेरो कर्मदाता पनि हुनुहुन्छ । लिनुहोस् हजुरलाई समर्पण गर्नको लागि यो उपहार ल्याएकी छु ।" उनकी बुहारीले लुगाको पोको हातमा हालिदिँदै भनिन् ।

बूढानीलकण्ठ, काठमाडौँ २०७९-७-७ ।

तपाईँको मत