कला

लघुकथा: इज्जत

"हेर छोरी, त्यो नाथे दुई पैसाको कौडीको मान्छेसँग तिम्रो बिहे हुन सक्दैन । पैसाबिना जीवनको एक पाङ्ग्रा पनि चल्न सक्दैन । बाबुबाजेको यत्रो इज्जत छ । त्यसलाई मिट्टीमा मिलाउने काम नगर तिमी । यदि यस्तो गर्‍यौ भने मेरो मरेको मुख देख्नेछ्यौ तिमीले ।"

आफ्ना बाबाको यस्तो दम्भपूर्ण बोलीलाई दबाउन नसकेर पूर्णिमाले आफ्नो पाँच वर्षे प्रेमको बलि दिई ।

बिहे गरेर गएको घरमा कहिल्यै मनको सुख भएन । जँड्याहा लोग्नेको पिटाइको नीलडाम देखाउँदा नि आमाले भनिन्, "छोरी मान्छेको जात सहनशील हुनुपर्छ, आफ्नो घरको कुरा गर्दै आफ्नो आङ कनाएर छारो उडाउन हुँदैन । माइतीको इज्जतको लागि घरको कुरा घरभित्रै सीमित राख्नुपर्छ ।"

कहिलेकाहीँ आएर दुई दिनबाट तीन दिन माइत बस्यो कि छोरीको घर बिग्रन्छ, इज्जत जान्छ भनेर पुराउन गइहाल्थे । एक दिन टिभीमा समाचार आयो, "जँड्याहा श्रीमानद्वारा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या ।"

तपाईँको मत