गलाभरि माला पहिरिँदै विकास एजेण्डा बाेकेर वडा वडामा रामेछापका उम्मेदवार
- गाउँ सहर डेस्क
- २० कार्तिक आइतबार, २०७९ | १६:०१:०० मा प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन नजिकिँदै गर्दा गाउँ गाउँमा उमेदवारहरू पुग्न भ्याइ नभ्याइ छ । कार्यकर्तासहित वडा वडामा पुगेका उमेदवारहरूसँग मतदाताहरूले पनि विकासका एजेण्डा र प्रतिवद्धता मागिरहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेकाे रामेछापमा पनि अहिले भोट माग्न आउने उमेदवारलाई स्थानीय यही खानेपानी, सडक, राेजगारी लगायतका आफ्ना समस्या सुनाइरहेका छन् । गाउँमा पुग्ने उमेदवारसँग अरू विकाससँगै पिउनेपानीको समस्या समाधान गरिदिन उनीहरूले आग्रह गरिरहेका छन् ।
हरेक निर्वाचनमा नेता र उमेदवारले पानीको समस्या समाधान गर्ने भन्दै आश्वासन दिने गरेको तर समस्या सधैँ उस्तै रहेको जिल्लाका विभिन्न वडाबासीहरू बताउँछन् । “यति बेला मत माग्ने उमेदवारसँग हामीले सडक, बाटो, बत्ती मागेका छैनौँ,” सुनापति-३ हिलेदेवीका एक स्थानीयले भने, “सिंगो गाउँका मतदाताको माग भनेकै खानेपानीकै व्यवस्थापन हो ।”
हरेक निर्वाचनमा गाउँका समस्या समाधानको वाचा गर्ने उमेदवारलाई आफूहरूले भोट दिँदै आएको स्थानीय बताउँछन् । तर, चुनाव जितेपछि उमेदवारले फर्केर नहेरेको उनीहरूको गुनासो छ ।
रामेछापमा सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारहरु आ-आफ्नो पक्षमा भोट माग्ने कार्यमा जुटेका छन् । मुख्य प्रतिस्पर्धी पनि यी दुईबीच हुने देखिन्छ ।
रामेछापमा प्रतिनिधिसभा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) र प्रदेश १ र २ मा माओवादीका उमेदवारहरू क्रमश: तारानारायण श्रेष्ठ र युवराज चौलागाई छन् । त्यसैगरि नेकपा एमालेकाे तर्फबाट प्रतिनिधिसभामा कैलाश ढुंगेल र प्रदेश १ र २ मा क्रमश: शान्ति पाैडेल र मिलन घिसिङ रहेका छन् ।
त्यसाे त रामेछापमा सत्ता गठबन्धनबीच सहमति हुन नसकेपछि पनि नेकपा एकीकृत समाजवादीले प्रदेश १ मा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश वस्नेतले उमेदवारी दिएसँगै चुनावी घरदैलो अभियानमा जुटेका छन् । मन्थली नगरपालिकाका नगरप्रमुखसमेत भइसकेका बस्नेतलाई चुनाव जिताउनका लागि घरदैलो अभियानको नेतृत्व एकीकृत समाजवादी रामेछापेका जिल्ला इन्चार्ज देवशकंर पौडेलले गरेका छन् । एकीकृत समाजवादीले दुई वटा प्रदेशसभा मध्य एक पाउनु पर्ने अडान राखेको थियो । तर अन्तिम समयमा कांग्रेसले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा माओवादीले लिएपछि समाजवादीले पनि छुट्टै उमेदवारी दर्ता गराएको थियो ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार एउटा मात्र प्रतिनिधिसभा निर्वाचन रहेको रामेछापमा १ लाख ८० हजार, १०६ कुल मतदाता रहेका छन् । जस मध्य ८८ हजार ०३७ महिला र ९२ हजार ०६९ पुरुष रहेका छन् ।९६ वटा मतदान स्थल रहेको रामेछापमा २२६ वटा मतदान केन्द्र रहेका छ । १७ राजनीतिक दल र पाँच स्वतन्त्रसहित २२ जनाले प्रतिनिधिसभा सदस्यको लागि उमेदवारी दर्ता गराएका छन् ।
के भन्छन् उमेदवार ?
लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरू आफ्नो जीत सुनिश्चित भइसकेकाे बताउँछन् । रामेछापको विकासको जग एमालेकै नेतृत्वमा सुरु भएकोले यसपट साे काम पूरा गर्न मतदाताले जिताएर पठाउने एमालेका उमेदवार दाबी गर्छन् ।
पूर्ण बहादुर तामाङ (कान्छाराम) : गठबन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेस
लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापका लागि प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले निर्वाचित भएपछि रामेछापको विकासको लागि योजनाबद्ध रुपमा काम अघि बढाउने बताउँदै चुनावमा गरेको बाचा पुरा गरेरै छोडने बताउँछन् । ‘विगतमा पराजित भएर पनि रामेछापवासीकै सेवामा मन, बचन र कर्मबाट लागेको छु, अब चुनाव जितेर पाँच बर्ष जिल्लावासीको सेवामा दत्तचित्त भएर लाग्छु, विकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्छु’ उनी भन्छन् ।
रामेछापका आवश्यकता आफूले नजिकबाट पहिचान गरेको बताउँदै तामाङले जनताको चाहना र आवश्यकतालाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा विकास निर्माणको काम अघि बढाउने बताए ।
तामाङले सांसद जितेपछि आउने तलब भत्ता रामेछापवासीको सेवामा खर्च गर्ने पनि घोषणा गरेका छन् । उनले आफूलाई सरकारले दिने तलब भक्ता आवश्यक नभएको बताउँदै एक मात्र चाहना जिल्लाको विकास गर्नु रहेको बताए । यस पटक रामेछापवासीले आफूसहित गठबन्धनका उम्मेदवारलाई जिताउने विश्वास गर्दै गठबन्धले जिते मात्र समृद्ध रामेछाप निर्माण हुने बताए ।
तारानारायण श्रेष्ठ : उमेदवार माओवादी केन्द्र, प्रदेश सभा- १
संविधान निर्माणमा पनि आफ्नाे भूमिका रहेकाे भन्दै अब जिल्ला विकास निर्माण र नीति निर्माण तहमा रहेर काम गर्ने उनकाे प्रतिवद्धता छ । समृद्ध रामेछापकाे लागि अनवरत रूपमा काम गर्ने बताउँदै यसपटक गठबन्धनकाे तर्फबाट उमेदवार बनेकाले सहजै जित हुनेमा ढुक्क रहेकाे जनाए ।
जनताको लामो संघर्षपछि बनेको संविधान नै सिध्याउने गरी केपी ओली नेतृत्वमा रहेको नेकपा एमालेले संविधन विपरित काम गर्न थालेपछि परिवर्तनकारी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संविधान बचाउन गठबन्धन गरेर चुनावमा आएको दावी गरेका छन् ।
युवराज चौलागाई : उमेदवार माओवादी केन्द्र, प्रदेश सभा- २
सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य २ का नेकपा माओवादी केन्द्रका उमेदवार युवराज चौलागाई गठबन्धनको जीत सुनिश्चित रहेको बताउँछन् । उनले गठबन्धनसँग संविधानको रक्षा गर्ने प्रतिबद्धता र रामेछापको विकास गर्ने स्पष्ट योजना रहेको बताउँदै गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरे । चौलागाईले गठबन्धनले मात्र रामेछापको विकास गर्न सक्ने बताए । रामेछापलाई समृद्ध बनाउने योजनासहित आफूले उमेदवारी दिएको बताउँदै चुनावी अभियानको क्रममा जनताले गठबन्धनको पक्षमा ठूलो उत्साह ल्याएको बताए । विकासको गतिमा अघि बढदै गरेको रामेछापलाई थप विकसित बनाउनका लागि कृषि पर्यटन सडक, स्वास्थ्य शिक्षा रोजगारी लगायतको क्षेत्रमा धेरै सुधार गरेर अघि बढने चौलागाईले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एउटै माला
सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले आफ्ना नेता कार्यकर्तालाई विश्वास दिलाउनका लागि विभिन्न माध्यमबाट प्रयोग गरेर गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रामेछापमा प्रतिनिधिसभा गठबन्धनका साझा उम्मेदवार तामाङ र चौलागाई दुवै जनाको गलामा कार्यकर्ताहरुले एउटै माला लगाइदिएका छन् ।
गठबन्धनमा आबद्ध कांग्रेस र माओवादीले एकले अर्को दललाई भोट माग्दै आएका छन् । घरदैलो अभियानदेखि चुनावी सभासम्ममा गठबन्धनका उम्मेदवारलाई जिताउन नेताहरुले अपिल गर्दै आएका छन् ।
कैलाश ढुंगेल : प्रतिनिधिसभा उमेदवार- एमाले
नेकपा एमालेका उमेदवाहरूले पनि आफ्नो पार्टीकाे जित सुनिश्चत रहेका दाबी गर्छन् ।
एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमाले नेतृत्वको सरकारले अघि बढाएर अधुरो रहेका विकास निर्माणका काम पूरा गर्न आफ्नो पार्टीले जित्नु पर्ने बताउँदै मत मागिरहेका छन् । ढुंगेलले रामेछापको विकासको जग एमालेकै नेतृत्वमा सुरु भएको बताउँछन् । उनले आफ्नो पार्टीले विकासको जग हालेकाले जिल्लाको विकास एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताएका हुन् । उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेले जित्नु पर्ने बताउँदै सिंगो देशको विकास गर्ने नेतृत्व एमालेले मात्र गर्न सक्ने बताए ।
विगतमा गरेको कामको आधारमा पनि आगामी निर्वाचनमा पनि एमालेलाई नै जिताउने ढुंगेलकाे दाबी छ । ढुंगेलले रामेछापको विकास कसरी गर्नुपर्छ भन्ने विषय आफ्नो पार्टीलाई मात्र थाहा भएको बताए । रामेछापमा सडक, विद्युत र कृषिको आवधिक योजना एमालेले नै बनाएको बताउदै जिल्लाको विकास गर्ने एक मात्र योजना एमालेसँग मात्र रहेको तर्क छ ।
शान्ति पौडेल : उमेदवार एमाले, प्रदेश सभा- १
प्रदेश सभा सदस्य रामेछाप प्रदेश १ का लागि एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछापको विकासको खाका एमालेले बनाएको बताउँछन् । उनले रामेछापको विकासको मास्टर प्लान एमाले नै बनाएको बताउँछन् ।
रामेछापको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताउँदै उनले रामेछापलाई विकसित बनाउन योजना आफूहरुसँग रहेको बताए । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार जरुरी छ, विपक्षसँग देश बनाउने कुनै योजना छैन, रामेछापमा एमालेका उमेदवारलाई जनताले जिताउँछन', पौडेलले भने ।
मिलन घिसिङ : उमेदवार एमाले, प्रदेश सभा- २
प्रदेशसभा २ का लागि नेकपा एमालेबाट प्रदेशसभा सदस्य उमेदवार मिलन कुमार घिसिङले रामेछाप जिल्लाको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताउँछन् । प्रदेश २ मा सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धामार्फत जित हासिल गर्न एमाले सक्षम रहेको बताउँदै एमालेलेको जित सुनिश्चित रहेको दाबी गरे ।
उनले भने,‘रामेछापको विकास र समृद्धिका लागि एमालेले नै जित्नु पर्छ, रामेछापवासीले एमालेलाई नै जिताउने विश्वास लिएका छौं ।’
रामेछापभित्रको सडक निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा परिवर्तन गर्न र रामेछाप जिल्लाभित्र नै रोजगारी सृजना गर्ने काम एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउँदै कृषि र पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन आफ्नो पार्टीले जित्ने दावी गरे ।
गठबन्धन ढुक्क, एमाले असन्तुष्टकाे मत तान्ने कसरतमा
यतिबेला जिल्लामा उमेदवारहरुले निर्वाचन जित्नको लागि आ–आफ्नो रणनीति बनाएर अघि बढेका छन् । चुनावी अभियानलाई तीब्रता दिएका गठबन्धन र एमालेका उम्मेदवारहरुले जित्ने आ–आफ्नै दावी प्रस्तुत गर्दै जनतासँग मोट माग्ने अभियानमा जुटेका छन् ।
सत्ता गठबन्धनलाई खसाउन सकेमा एक अर्काकै मत जितका पर्याप्त देखिन्छ । तर एमाले भने कांग्रेस र माओवादीमा असन्तुष्टीका मत तानेर जित्ने दाउमा छ ।
जिल्लाभित्र रहेका १ लाख ८० हजार मतदाता मध्ये १ लाख देखि १ लाख पाँच हजारसम्म मत खस्ने पूर्व अनुमान गरिएको छ । जस मध्य केही मत बदर हुँदा एक लाख मत मध्य विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले लिने मत दस हजार आँकलन गरिएको छ । रामेछापमा कान्छाराम र ढुंगेलमध्ये एकले चुनाव जित्नको लागि करिब ४५ हजार भन्दा बढी मत कटाउनु पर्ने देखिन्छ ।
स्थानीय तहमा गठबन्धनले प्राप्त गरेकाे मत हेर्ने हाे भनेपनि नेपाली कांग्रेसकाे जित सुनिश्चित देखिन्छ । स्थानीय तहमा नेपाली कांग्रेसले पाएकाे मत ३८ हजार ७४३ नेकपा माओवादीकाे २७ हजार ८२९ छ भने नेकपा एसकाे १ हजार ५६४ गरि कुल मत ६६ हजार ५७२ छ भने नेकपा एमालेले पाएकाे मत भनेकाे ३८ हजार ८६७ हाे ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस