ब्लग

नेपालको भाषा संस्कृति र पहिचान माथिको व्यङ्ग्य कहिले सम्म ?

नेवा: समुदाय भित्र पनि विभिन्न भिन्नताहरू छन्। बेग्ला बेग्लै पहिचान छ, सामाजिक, सांस्कृतिक, भाषिक विविधता छ, अनेक धर्म–संस्कार छन्। धर्म, भाषा, संस्कृति जात जाति कुनै पनि समाजको छुट्टै पहिचान र राष्ट्रको गहना हो। नेवार भनेको जाति मात्र होइन, एउटा मौलिक सांस्कृतिक, भाषिक, समूहको खुला संग्रहालय हो जसभित्र विविध जातजाति अटाएका छन्। सारा विश्वले नेपालको पहिचान चिनाउन नेवा संस्कृति, कलाले छुटै महत्व बोकेको छ।

कमेडी, व्यङ्ग्यका नाममा आजकल अन्य जाति, भाषालाई होच्याउने खिसिट्यूरे गर्ने कसैलाई हक अवस्य छैन। तर अहिले च्याउ झैँ उम्रेका केहि यूट्यूब च्यानेल मार्फत् हाँस्य व्यङ्ग्य गर्ने भन्दै अरुको भाषा, संस्कार, वर्ग माथि तीतो व्यङ्ग्य प्रहार गर्नेको जमात बढ्दो छ। यसलाई कारबाही नगर्ने वा यस्ता कार्यकम गर्न मद्दत पुर्याउने हौसला प्रदान गर्ने काम बढी भइरहेको छ।

केहि समय पहिले पनि राष्ट्रिय टेलिभिजन मार्फत कमेडी क्लबमा भगवान शिव माथि व्यङ्ग्य प्रहार गरी हिन्दू संस्कृति धर्म माथि केहि कमेडियनले धावा बोलेको प्रस्ट छ।

यो विवादको भिडियो काटेपछि मात्र प्रसारण गरियो। अघिल्लो विवाद सकिन नपाउँदै कमेडी क्याफे यूट्यूब मार्फ़त पुनः नेवा भाषा, खानपान र संस्कृति माथि व्यङ्ग्य भएको छ। तर पनि नेवा भाषा, संस्कृति, खानपान माथि व्यङ्ग्य गर्नेलाई सजाय किन हुन सकिरहेको छैन। यसको जिम्मेवार कसलाई मान्ने हो? कसले यस्तो प्रवृति गर्नमा हौसला र ढाडस दिएको छ वा यो पनि कुनै राजनीतिक द्वन्द्व निम्त्याउने खेल त होइन?

दलित र मधेसीका नाममा राजनीति गर्दा गर्दै अब अन्य जात जातिलाई समेत जोडेर ब्यङ्ग गर्ने अधिकार कसैलाई छैन। व्यङ्ग्यका नाममा मनोरन्जन गर्नका लागि चलचित्र, सीरियल, नाटक बनाउने अनेक विषयवस्तु आफ्नै वर पर छ तर केहि व्यक्ति विशेष, धर्म, भाषा, संस्कृति माथि व्यङ्ग्य गर्ने छुट कसैलाई छैन। तसर्थ यी भाषा धर्म, संस्कार हाम्रा पहिचान हुन यिनीहरुको संरक्षण गर्नेतर्फ लागौँ न की व्यङ्ग्यका नाममा हेला-होचो गर्ने काम नगरौँ।

#StopcomedyAgainstcaste

तपाईँको मत