दृष्‍टिकोण

गरिबी निवारणको मेरुदण्ड सहकारी ! समुदाय स्तरमा झन जटिल हुने संभावना

सहकारी भन्ने बितिकै समुदायमा आधारित सम्पूर्णको निजी लगानीमा बराबर मुनाफा आर्जन गरी जीवनयापन सहज मद्दत पुग्नु जसलाई वित्तीय कारोबार मार्फत यसको परिचालन गर्ने गरिन्छ ।

सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठन मार्फत हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ। विश्ववब्यापी रुपमा सन् १९९५ देखि संयुक्त राष्ट्र संघले यो दिवसलाई अंगीकार गरेको छ। हाल आएर नेपालमा पनि सहकारी आन्दोलन थप विकसित, मुनाफा, समुदायमा समर्पित रहेर प्रभावकारी ढंगमा अगाडि बढेको छ।

सहकारीको आधुनिक परिभाषासँग हूबहू मेल खाने पहिलो सहकारीको रुपमा स्थापना सन् १८४४ मा बेलायतको रोचडेल सहरमा उपभोक्ता सहकारी संस्थाको रुपमा गठन गरिएको थियो। यसलाई सहकारीको इतिहासमा रोचडेल पायोनियर्सको नामले पनि प्रख्यात छ।

त्यसै गरी सन् १८४८को जर्मनीमा जनताको बैंक स्थापना गरी अनिकाल, भोकमरी परेका ग्रामीण किसानहरुलाई सहज ऋण उपलब्ध गराउने कार्यमा रैफिशनको नेतृत्वमा ऋण सहकारी अभियान सुरु भयो। यसरी बेलायत तथा जर्मनीबाट एउटै दशक भित्र प्रारम्भ भएको सहकारी क्रान्ति आविबिश्वभर फैलँदै अमेरिका, यूरोप, अस्ट्रेलिया र केहि एसियाली राष्ट्रहरुमा सन् १९४० पूर्व नै सहकारी आन्दोलनले लोकप्रियता एवं महत्व बढेको इतिहासमा पढन पाइन्छ। सन् १८९५ को बेलायतमा सम्पन्न भएको पहिलो सहकारी काँग्रेसमा एसिया र प्रशान्त क्षत्रका भू-भागहरुबाट भारत र अस्ट्रेलियाका प्रतिनिधिहरुले सहभागी जनाएका थिए। लण्डनमा सम्पन्न सो काँग्रेसले अन्तर्राष्ट्रिय सहकारी एलायन्स (International Cooperative Alliance ICA) गठन गर्यो। सन् १९१०मा जापान पनि सहभागी भयो त्यस लगतै सन् १९९२ मा तत्कालिन सुधारवादी नेता सनयात्सेनले चीनमा सहकारी आन्दोलनको शुरूबात गरे। दोस्रो विश्वयुद्ध पश्चात सहकारी आन्दोलन यूरोप, अमेरिका र जर्मनीको मोडेलमा बन्न थाल्यो।

अहिलेको समयमा भारत, चीन महत्वपूर्ण राष्ट्रको रुपमा सहकारी क्रान्तिलाई तिब्र पारेको छ। भारतमा सन् १९०४ मा आरम्भ र सोहि क्रान्तिलाई आत्मसाथ गर्दै नेपालमा सन् १८४४को बेलायतमा प्रारम्भ भएको सहकारी आन्दोलनको ११० वर्ष पछि सन् १९५४ मा प्रारम्भ भएको थियो।

वि.सं. २०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना भएको थियो। नेपालमा पहिलो पटक चितवनको बखानपुरमा वि.सं. २०१३ चैत्र २० गते बखान ऋण सहकारीको स्थापना सँगै नेपाल सहकारी दिवस समेत मनाउने गरियो। सहकारी क्षेत्रलाई गतिशिल बनाउनका लागि २०१६ सालमा पहिलो सहकारी संस्था ऐनको निर्माण भएको थियो। वि.सं. २०१९ सालमा सहकारी बैंक ऐन निर्माण भए लगतै वि.सं. २०२० साल भदौ २८ गते सहकारी बैंक स्थापना भयो, २०२० सालमा स्थापना गरिएको सहकारी बैंकलाई २०२४ सालमा कृषि विकास बैंकमा परिणत गरियो।

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी ऐन २०४८ तर्जुमा भई लागु गरियो, सो ऐन जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता तथा सिद्धान्त अनुसार सहकारी संस्थाको स्थापना र संचालन हुने कानूनी आधार निर्माण भएपछि सहकारी क्रान्ति अहिले यहाँ सम्म बचत तथा ऋण, कृषि, स्वस्थ्य, वन, पशु, सञ्चार, पर्यटन, दुग्ध, बहुउद्देशिय जस्ता प्रकारमा विभाजन गर्दै सेवा गरी रहेका छन्। सहकारी ऐन जारी भए पश्चात सहकारी आन्दोलनलाई ठुलो मद्दत पुग्नुका साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सात सिद्धान्तहरु र आठ मूल्यहरुका आधारमा सहकारी संघ सस्था धमाधम अगाडि बढ्ने वातावरण तयार भयो।

नेपालको अर्थतन्त्र सहकारी संस्थासँग भएको पूँजी उत्पादनको क्षेत्रमा कमी हुनु तर उपभोगको क्षेत्रमा बढी लगानी भएको पाइन्छ। जसले गर्दा पूँजी निर्माण, रोजगारीमा कमी आएको छ। पछिल्लो पटक सहकारीको लगानी घर जग्गा खरीद बिक्री, वैदशिक रोजगार अध्ययन, यातायात क्षेत्रमा बढी देखिन्छ जसका कारण प्रतिफल राम्रो हुन सकेको छैन।

कृषि उत्पादन, हाइड्रोपॉवर जस्ता क्षेत्रमा लगानी गरी रोजगार सृजना गर्न गराउन सके राज्य, संस्था, ब्यक्तिलाई समेत फाइदा पुग्ने निश्चित छ। हाल कति सहकारीमा बचत मात्र गरेर बस्नेको उल्लेख्य जमातनै छ बचत रकमलाई आवश्यकता अनुसार परिचालन गर्न सक्यो भने राज्यको कूल गार्हस्थ उत्पादनमा थप फाइदा भई अर्थतन्त्र बलियो हुने देखिन्छ। हाल सहकारी एउटा व्यवसायकाे रुपमा खडा भएको छ।

एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वतन्त्र, स्वायत्त, उद्यमशील भई व्यवसायीक संगठन हुनुनै सहकारी भएको छ। समुदायमा आधारित, सदस्य केन्द्रित र सहकारीको मूल्य मान्यता सिद्धान्त, मर्म अनुरूप संचालन हुनु पर्दछ। छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने, कार्यकुशलता वा क्षमता अभिवृद्वि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सबल संस्था सहकारी बन्नू पर्दछ।

नेपालमा वित्तीय पहुँच, समावेशीकरण,साक्षरता,नेतृत्व विकास, पूँजी निर्माण र परिचालन जस्ता सवालमा सहकारी अगाडि बढेको देखिन्छ। केहि सहकारीमा चेतना अभिवृद्विको कमी, व्यवस्थापनमा ह्रासका कारण सहकारी टाट पल्टनुका साथै बन्द हुन पनि पुगेको छ।

सहकारीमा जवाफदेहिता,पारदर्शिता, विश्वासनीय लक्ष्य, क्षमताको कमी पाइन्छ। नेपालमा सहकारी संख्यात्मक रुपमा बढ्दै गए पनि गुणात्मक दिन सकेको छैन यसलाई सम्बन्धित निकायको अनुगमनमा ह्रास हुनु पनि एक हो, सहकारीलाई दिगो सोच, अठोटको आवश्कता छ।

आर्थिक समृद्धिको पिल्लर सहकारी भएको वर्तमान अवस्थामा घरैपिच्छे देखिने बोर्डले अनेक योजनामा आफ्नो प्रचारप्रसार गरेको पाइन्छ। यो सही हो या गलत, सहकारीमा आफ्नै परिवार को हालीमुहाली हुनु, ऋणको सुपरिवेक्षण ,कस्तो खालको ब्यक्तिले संचालन गरेको छ, कर्मचारी कस्ता खालका छन त्यसको निष्पक्ष छानबिन अनुगमन गरी डुप्लीकेशन हुने सहकारीका सदस्यलाई खारेज,कार्यसमितिमा आफ्नै पारिवारिक संगठन जस्तो कार्यलाई रोक्न सक्ने परिपाटी गर्यो भने असल सहकारी मार्फत असल सदस्य वृद्धि गरी आत्मनिर्भर बनाउने र राज्यलाइ लाभ दिलाउन सके सहकारी सदाबहार सफल बन्न सक्ने र समुदायमा चुनौती कम देखिने सम्भावना छ।

तपाईँको मत