वस्तु आयात २४.७ प्रतिशतले वृद्धि, विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढ्याे (पूर्ण पाठ)
- गाउँ सहर संवाददाता
- ३१ श्रावण मंगलबार, २०७९ | १८:१३:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित) अनुसार वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएकाे छ भने त्यस्तै विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेकाे छ । मंगलबार जारी प्रतिवेदनमा साे कुरा सार्वजनिक गरिएकाे हाे ।
उसका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।
बैंकका अनुसार समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
यस्तै निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु.१७२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२१३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात रु.१९० अर्ब ५४ करोड बराबरको भएको थियो ।
राबैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेकोे थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।
समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको बैंकले बताएकाे छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई रु.१०५६ अर्ब ३९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१ करोड पुगेको छ । २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस