गाउँ सहर

चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायीः परराष्ट्रमन्त्री खड्का

काठमाडाैँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् ।

चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए ।

उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् ।

मन्त्री खड्काले भ्रमणका क्रममा स्टेट काउन्सिलर र आफ्नो बीचमा द्विपक्षीय मामिलालगायतका समान चासोका विभिन्न विषयमा छलफल भएको जानकारी गराउँदै भने, “चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मेरो मैत्रीपूर्ण निमन्त्रणामा गत मार्च २५ देखि २७, २०२२ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । उक्त भ्रमणमा महत्वपूर्ण समझदारीमा हस्ताक्षर भएको कुरा यहाँहरुलाई अवगत नै छ । मेरो यो भ्रमणले ती समझदारीको कार्यान्वयनको लेखाजोखा गर्न र आपसी हितका थप विषयमा छलफल र सहमतिमा पुग्न सहयोग पु-याएको छ ।”

दुवै मन्त्रीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा नेपाल–चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्न सहमति भएको छ । मन्त्री खड्काले चिनियाँ समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमणपश्चात् दुई देशका सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको बताए । 

उक्त भ्रमणपश्चात् विभिन्न संयन्त्रका बैठक सम्पन्न भएका छन् भने नेपाल–चीन हवाई सेवा सञ्चालन भई नेपाली विद्यार्थीको चीन फिर्ता हुनेक्रम सुरु भइसकेको छ । मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको बताए ।

नेपालको उत्पादन क्षमता बढाउन, नेपालमा लगानी प्रवर्द्धन गर्न, नेपाली चिया चीनमा निर्यात गर्न तथा परम्परागत औषधिजन्य जडीबुटीका क्षेत्रमा सहयोग बढाउन चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्ने विषयमा सकारात्मक कुराकानी भएको उनले बताए । दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएकोसमेत उनले विमानस्थलमा बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत