‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- गाउँ सहर संवाददाता
- २९ बैशाख सोमबार, २०८२ | ०५:२२:०० मा प्रकाशित
काठमाडाैँ । आज २५६९ औँ बुद्ध जयन्ती । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा महात्मा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले आजको तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका (बुद्ध जयन्ती) रूपमा मनाउने गर्दछन् ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा नेपालको लुम्बिनीमा राजा शुद्धोदन र रानी मायादेवीका पुत्र राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । पछि उनै सिद्धार्थ गौतमले यस धर्तीमा एक नयाँ युगको सुरुवात गरे । एउटा नवीन मार्ग देखाई समाजलाई युग चेतनाको बोध गराए ।
उनका उपदेशलाई चार आर्य सत्यका रूपमा लिने गरिन्छ ।
(१) दुःख सत्य– यो संसारको प्राकृतिक नियम नै दुःखदायी छ । यसर्थ सबै विषयवस्तु दुःखका कारण हुन् । जन्म, रोग, बुढ्याइँ, मृत्यु, संयोग, बिछोड आदि सबै प्रकृतिको नियम हुन् । यो ज्ञान भनेकै दुःख सत्य हो ।
(२) दुःख समुदय– दुःख हुने निश्चित कारणलाई दुःख समुदय भन्दछन् । मानिसमा रहेको लोभ, मोह, रिस–राग, आशक्ति, तृष्णा, स्वार्थ आदिलाई दुःखका मूल कारण भनिएको छ । बौद्ध दर्शनअनुसार पतित्यसमुत्पाद–चक्र अन्तर्गतका जरामरण, जाति, भव, उपादान, तृष्णा, वेदना, फस्स, षडायतन, नाम–रूप, विज्ञान, संस्कार र अविद्याको चक्रलाई दुःखसमुदायका रूपमा लिने गरिन्छ । यी सबैलाई रोकेपछि मात्र तृष्णा निर्मूल हुन्छ र शान्ति प्राप्त हुन्छ ।
(३) दुःख निरोध सत्य– तृष्णा अर्थात् आशक्तिमा नै दुःखको जरो हुन्छ । लिप्सा, लोभ, मोह, बन्धन, वासना आदि दुःखका मूल कारणलाई जीवनामा आउन नदिनु वा रोक लगाउनु नै दुःख निरोध सत्य हो ।
(४) दुःख निरोधगामिनी प्रतिपदा सत्य– दुःखलाई रोक्ने उपाय वा मार्गका रूपमा दुःख निरोधगामिनी प्रतिपदा सत्यलाई लिइन्छ । यस मार्गका आठ प्रकारलाई आर्य अष्टाङ्गिक मार्ग पनि भनिएको छ । ती मार्गहरूमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन् । यिनको परिपालनाले दुःख अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिन्छ ।
बुद्ध जयन्तीका अवसरमा संसारभर बुद्धका मन्दिर, गुम्बा, विहार, मठ, स्तूप, चैत्य आदिमा भगवान् बुद्धको विशेष पूजापाठ, प्रार्थना, प्रवचनलगायत धार्मिक कार्यक्रम र दीपावली गरिन्छ । विभिन्न स्थानमा बुद्धका प्रतिमा, अस्थिधातु, तस्बिर आदिसहित शोभायात्रा निकालिन्छ र ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’, ‘सङ्घं शरणं गच्छामि’जस्ता सुमधुर मन्त्र उच्चारण गरिन्छ ।
सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदैछ । लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती भव्य रुपमा मनाउन शुरु गरिएको छ । यस अवसरमा लुम्बिनी विकास कोषले विभिन्न कार्यक्रम गरेको छ । कोषले जानकारी गराए अनुसार वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम तय गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस