विद्युत

भारतका विद्युत्‌मन्त्रीको भ्रमणमा के भए त्यस्ताे महत्वपूर्ण समझदारी

काठमाडाैं । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी समझदारीले भएपछि भविष्यमा बिजुली आयात तथा निर्यात गर्न थप सहज हुने भएकाे छ । 

मङ्गलवार काठमाडाैंमा आयोजित एक समारोहमा दुई देशका विद्युत्‌सम्बन्धी निकाय नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड अफ इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दुवै निकायको संयुक्त लगानी हुने गरी ती प्रसारण लाइनको निर्माण गर्न यो समझदारी गरिएको अधिकारीहरूले बताएका छन्।

मङ्गलवारको समझदारी लम्की-बरेली तथा इनरुवा-पुर्निया प्रसारण लाइनसँग सम्बन्धित रहेका छन्। ती प्रसारण लाइन ४०० केभीए उच्च क्षमताका हुने छन्।

अहिले दुई देशबीच उच्च क्षमताको केवल एक प्रसारण लाइन सञ्चालनमा छ। ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाहेक अर्को उच्च क्षमताको लाइन भनेको बुटवल-गोरखपुर हो, जुन निर्माणाधीन रहेको छ।

आगामी वर्षहरूमा (सन् २०३५ सम्म) नेपालले २८ हजार ५०० मेगावाट बिजुली निकालेर १५,००० जति भारतमै निर्यात गर्ने भनेकाे बेला याे सम्झाैता महत्वपूर्ण मानिएकाे छ । 

तथापी पहिले नै यसबारे निर्णय भइसकेकाले अहिले केवल समझदारीपत्रमा मात्र हस्ताक्षर गरिएकाे हाे । केही वर्षअगाडिदेखि नै यसमा निर्णय भइसकेको हो।

मङ्गलवार बिहान काठमाडाैं ओर्लिएलगत्तै भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकनमा पुगेका थिए।

जहाँ उनले भारतीय प्रवर्धकहरूले बनाइरहेको अरुण उपत्यकामा रहेका अरुण तेस्रो, अरुण चौथो र तल्लो अरुणको अवलोकन गरे। त्यहाँस्थित पावर हाउस र बाँधस्थलको वस्तुस्थिति हेरे अनि एउटा यूनिटको इलेक्ट्रोमेकानिकल प्रणालीको उद्घाटन पनि गरेका थिए । 

सन् २०१८ मा शिलान्यास गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाको क्षमता ९०० मेगावाटको रहेको छ। त्यसलाई भारतीय सरकारी कम्पनी एसजेभीएनले बनाइरहेको छ।

लगानी बोर्डका अनुसार यसको कुल लागत १ खर्ब ४४ अर्ब रुपैयाँ हुने छ। आगामी दुई वर्षमा उत्पादन सुरु हुन अनुमान गरिएकाे छ । अघिल्लो वर्ष असोजमा आएको बाढीपहिरोले केही क्षति पुर्‍याएकाले उत्पादन सुरु हुने मिति केही धकेलिएको छ ।

अरुण तेस्रो आयोजनाबाट उत्पादित ऊर्जामध्ये २१.९ प्रतिशत नेपालले निःशुल्क पाउने भनिएको छ। मुख्यत: यो निर्यातमूलक आयोजना हो।

तल्लो अरुण ६६९ मेगावाट क्षमताको आयोजना हो र त्यसको लागत करिब ७७ अर्ब रुपैयाँ हुने बोर्डले जनाएको छ। यो आयोजना अरुण तेस्रोको तल्लो तटीय विस्तारित आयोजना मानिएको छ। अरुण चौथो आयोजनाको क्षमता चाहिँ ४९० मेगावाट रहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत