५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप भोलिदेखि
- गाउँ सहर संवाददाता
- ८ असार बुधबार, २०७९ | १९:३४:०० मा प्रकाशित
काठमाडाैं । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ भोलिदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौंमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो ।
कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौं जिल्लाका १ लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।
उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि १ हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।
कार्यालयले काठमाडौंका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ ।
कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।
यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ ।
यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ ।
खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस