राजनीति

नेकपा (एमाले) काे सङ्कल्पः हामीहरू सदाचारमा नमूना बन्नेछौँ

काठमाडाैँ। नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाबाट जारी गरिएको काठमाडौं सङ्कल्प पारित गरेकाे छ ।

जारी सङ्कल्पमा भनिएकाे छ, 'हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर सङ्कल्प गर्दछौं।'

१. हामी शासक होइन, जनताका सेवक हुनेछौँ।

२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन्।

३. हामीहरू सदाचारमा नमूना बन्नेछौँ।

४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ।

५. भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ । ६. समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक-सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्नेछौँ। समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौं।

७. हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ। तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौँ।

८. सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलो र पारदर्शी बनाउन लागिरहने छौं। कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ।

९. बेरुजु समयमै फस्यौट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौं।

१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गंभीर ध्यान दिनेछौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक,सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्नेछौँ।

११. पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौँ।

१२. पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौं।

१३. विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्नेछौँ।

१४. स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्नेछौँ। समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौँ। बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ।

१५. प्राकृतिक विपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेछौँ।

१६. धूमपान, सूर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ । १७. बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ। बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा व्यतीत गर्नेछौँ ।

१८. नियुक्ति, सरुवा बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौं। परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ। ९९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट विदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ। यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौँ।

२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौं।

मितिः २-३ असार २०७९

गाउँ सहर संवाददाता

तपाईँको मत