गाउँ सहर

रूस–युक्रेन युद्धका कारण १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी

  • एजेन्सी
  • २६ जेठ बिहीबार, २०७९ | १९:१२:०० मा प्रकाशित

न्यूयोर्क । संयुक्त राष्ट्र संघले रूस–युक्रेन युद्धका कारण ९४ ओटा देशका १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी दिएको छ । युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको भन्दै राष्ट्र संघले लम्बिदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएको बताएको छ ।

राष्ट्र  संघको ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा युद्धले ती तीन ओटा क्षेत्रलाई जोखिममा पारेको उल्लेख छ ।

राष्ट्रसङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान पनि गरेको छ । आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

‘यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा संकटले अर्बौं मानिस नराम्ररी प्रभावित हुने छन्’, प्रतिवेदनमा भनिएको छ ।

महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर संकट सृजना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताएका छन् । खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन महासचिवले आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

एजेन्सी

तपाईँको मत