कला

लघुकथा : विजेता !

युद्धको घोषणा भयो ।

यस अगाडिका युद्धहरु कुकुर र बिराला, कुकुर–कुकुर वा बिराला–बिराला बिच हुने गर्थ्याे । तर यस पटकको युद्ध भने मुसो र बिरालो बिच हुँदै थियो । त्यसैले विगतको तुलनमा यस पटकको भिडन्त निकै रोमाञ्चक थियो ।

स्वभावैले बिरालो छट्टु थियो । उसले पानीमा रुझेको मुसो भन्ने उखान सुनेको थियो । पानीमा भिडन्त भएमा मुसो कमजोर हुने र मुसोलाई सजिलै जित्ने ठानेर बिरालोले पानीपोखरीभित्र युद्ध गर्ने प्रस्ताव राख्यो । मुसोले इन्कार गरेन ।

बिरालोको रंग निख्खुर कालो थियो, मुसोको रंग गहुँगोरो थियो । भिडन्तका लागि गहुँगोरे मुसो र काले बिरालो पाखरीमा पसे । रोचक भिडन्त हेर्न दर्शकहरु पोखरी वरिपरि घेरा बनाएर बसेका थिए ।

जाबो मुसोलाई सजिलै पछार्छु भन्ने बिरालोको घमण्ड थियो । दर्शकको अनुमान पनि बिरालोको बुझाइभन्दा फरक थिएन । सबैको अनुमान बिजेता बिरालो नै हुन्छ भन्ने थियो । पोखरीभित्र केहीबेरको घमासान युद्धपछि विजयको झण्डा फहराउँदै बिजेता पोखरी बाहिर निस्क्यो । विजयको झण्डा फहराउने काले थियो । सबैले काले बिरालोलाई बधाइ दिन थाले ।

बिरालो बिजेता भएको घोषणा गर्ने तयारी हुँदै थियो । बिजेता करायो– “म बिरालो होइन, म मुसा हुँ । तपाईँहरुको अनुमान विपरीत युद्ध मुसाले जित्यो ।”

सबैले बिजेतातर्फ नियालेर हेरे । बिजेता त मुसो नै पो रहेछ । तर अफशोच ! जित्नासाथ मुसाले बिरालोको रुप धारण गरिसकेछ ।

तपाईँको मत