कला

लघुकथा - दशैँ

दशैँ आयो भन्दै अरू साथीहरू रमाएको देख्दा मतिरामलाई पनि उनीहरूझैँ रमाउँदै उफ्रिन मन नलागेको त कहाँ हो र ? तर आफ्नी आमाको सधैँ भिजेको आँखा देख्दा आमासामुँ उसले आफूलाई यो किन्देऊ वा त्यो किन्देऊ भन्न सकेको थिएन । उसलाई थाहा नभएको होइन यो संसारमा उसको आफ्नो भन्नु नै आमामात्र हुन्, बाबुलाई त द्वन्द्वकालमा सरकारी सेनाले बेपत्ता बनाएको उसले गाउँलेकै मुखबाट सुनेको मात्र हो । आफ्नो बाबु कस्तो थिए भनेर उसलाई सम्झना पनि छैन ।

दिनभरि मुखियाबाको घरमा काम गरेर थाकेर फर्किएकी आमासामुँ उसले दशैँमा नयाँ लुगा लगाउने र जसरी भए पनि खसी ल्याएर काट्ने जिद्दी गरेपछि आमाले मैलो मजेत्रोले आँसु पुछ्दै भनिन् — ‘मतिराम, तेरा बा जीवनभरि गरीब, निमुखा र असहायक लागि लडेको थिए । उनी सधैँ कसरी भोकाहरूलाई एक छाक खुवाउन सकिन्छ भनेर सोचिरहन्थे । तर तँ चैँ नयाँ लुगा नपाए खसी नकाटे दशैँ नमान्ने भन्छस् । मैले तेरा सबै रहर कसरी पूरा गर्न सक्छु र छोरा । बरू तँ पो ठूलो भएपछि अभरमा परेकाहरूका लागि भर बन्नुपर्छ, आफ्नो लागिमात्र हैन सबैका लागि दशैँ ल्याउनुपर्छ ।’ मतिराम एकोहोरो आमालाई हेरिरहन्छ ।

मतिरामलाई स्नेहले अँगाल्दै आमाले सोधिन्—‘आफ्नो बाबुले हिँडेको बाटोमा मेरो ज्ञानी छोरो पनि हिँड्छ, हैन त मतिराम ?’

रोइरहेकी आमाको अँगालोमा बेरिएर मतिराम पनि रोइरह्यो ।

तरहरा (सुनसरी) ।

तपाईँको मत