कला

“चुनावको परिणाम”

[जितेपछि यस्ता खेतबारी र घर कति जोडिन्छ जोडिन्छ, पहिला जितौँ न मात्र भन्दै श्रीमतीको हाताकानाको फुलीसमेत बाँकी राखेनन्]

लघुकथा :

ग दलबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका रोनकले आफ्नो पक्षमा जीत हाँसिल गर्नका लागि हदैसम्मको कार्य गरे। "जितेपछि यस्ता खेतबारी र घर कति जोडिन्छ जोडिन्छ, पहिला जितौँ न मात्र" भन्दै श्रीमतीको हाताकानाको फुलीसमेत बाँकी राखेनन् ।

उनले होटलमा खाएसम्मको सबै निःशुल्क गरिदिएका थिए । प्रचारप्रसारमा साधन गुडाउनेलाई तेल हालिदिने देखि दैनिक भत्ताको पनि व्यवस्था थियो । चुनावको अघिल्लो दिन राति गाउँका थुप्रै ठाउँमा उनी हात्ती चढाउन पुग्दा उनलाई विपक्षी दलका प्रतिनिधिले रङ्गेहात भेटेको कुरा सामाजिक सञ्जालमा फैलिन सेकेण्डभर लागेन ।

थोरै उत्साह र धेरै त्रासमा चुनाव सकियो । बेलुकी सर्वदलीय बैठक बसेर मतगणना सुरू भयो । सुरूमा आफ्नै टोलको गणना भयो रोनकको पक्षमा राम्रै मत आयो । बाहिर जयजयकारको नारा घन्कियो । आधा मतगणना भइन्जेल उनी खुसी नै थिए । गणना सकियो विजयी घोषणा हुनुपूर्व प्राङ्गणमा एम्बुलेन्स कराएको सुनियो । रोनक बेहोस भएर पो लडेछन् त ।

नमोबुद्ध नपा वडा नं ८ काभ्रेपलाञ्चोक हाल: कमलविनायक भक्तपुर ।

तपाईँको मत