कला

लघुकथाः नयाँ पन

माता ब्रह्मायणीदेवीबाट सप्ताह महायज्ञ सञ्चालन हुने सूचना गाउँमा फैलियो । कोरोनाकालपछि यस्ता धार्मिक कार्यक्रम यदाकदा हुनथालेका थिए । त्यो सूचनाले गाउँलेहरूमा खुशी आयो ।

सप्ताह सुरू भएको पहिलो दिन नै बासुदेव सप्ताहस्थलमा गए । त्यहाँको झकिझकाउ र वातावरण देखेर मख्ख परे । एकातिर भिडियो खिच्नेको भीड, अर्कोतिर भजन गायकहरूको टोली र बीच भागमा ब्रह्मायणीदेवीको आसन मञ्च थियो । बासुदेवले घरमा गएर आफ्नी पत्नी मधुरीमालाई सप्ताहस्थलको वर्णन सुनाए । बासुदेव जागिरमा जानुपर्ने भएकोले उनले मधुरीमा सातै दिनसम्म सप्ताह जान आदेश दिए । प्रख्यात ब्रह्मायणीदेवीको प्रवचन सुन्न टाढाटाढाबाट धेरै महिला र केही पुरुषहरूको पनि उल्लेख्य उपस्थिति थियो । सप्ताह धुमधामका साथ सम्पन्न भयो ।

सप्ताहको अन्तिम दिन भक्तजनहरूलाई प्रसादहरू वितरण गरियो । मधुरिमा पनि एउटा प्लास्टिकको झोलामा अलिकति फूल, अक्षता र दुई चार वटा केरा लिएर घर गइन् ।

‘कस्तो थियो त सप्ताह महाज्ञान यज्ञ ?’ बासुदेवले फूल प्रसाद शिरमा लगाउँदै सोधे ।

‘रमाइलो निकै भयो । नाच, गान र भजनका साथै कृष्ण लिला पनि देखाइयो । उहिलेको जस्तो भागवत कथाको वर्णन चाहिँ धेरै नहुनेरहेछ ।’ मधुरिमाले भनिन् ।

‘उहिलेका जस्ता मान्छेहरू पनि छैनन् नि अहिले । समय परिवर्तनसँगै सप्ताहमा पनि त नयाँपन ल्याउनु प-यो नि ।’

तपाईँको मत