चक्र
"धेरै घमण्ड नगर साथी, पालो सबैको आउँछ"
- सृजना घिमिरे ढकाल
- १ बैशाख सोमबार, २०८२ | १०:५८:०० मा प्रकाशित

"अब पालो मेरो हो।"
नयाँ वर्षको पहिलो दिन, भित्ताको काँटीबाट झिकेर भुइँमा फालिएको पात्रोलाई भर्खरै झुन्ड्याइएको नयाँ पात्रोले हेप्दै भन्यो।
"स्वागत छ साथी, मैले मेरो काम सिध्याएँ, अब तिम्रो पालो।" पुरानो पात्रोले भन्यो।
"कुरा त धेरै ठूलो गर्यौ, के-के नै गरेजस्तो! भुइँमा फालिइएर" नयाँ पात्रोले हप्कायो।
"तिमी यहाँ जे गर्न आएका हौ, मैले पनि त्यही गरें। समयको सम्झना दिलाउँदै, मानिसका अनुभूतिहरूको साक्षी बनेँ।" पुरानो पात्रोले मुस्कुराउँदै जवाफ दियो।
"के बुझ्यौ त मानिसका अनुभूतिबाट?" केही नरम हुँदै नयाँ पात्रोले सोध्यो।
"जस्तोसुकै परिस्थितिमा पनि धैर्य गरेर, समयसँगै आफ्नो कर्तव्य पालन गर्नेहरू सधैं खुशी रहन्छन्," पुरानो पात्रोले आफ्नो खुशी व्यक्त गर्दै भन्यो।
नयाँ पात्रोले व्यंग्य गर्दै भन्यो, "धेरै कुरा जानेछौ त! काम सकिहाल्यौ, अब खुशी मनाउ फोहोरको थुप्रोमा।"
पुरानो पात्रोले गर्वका साथ जवाफ दियो, "धेरै घमण्ड नगर साथी, पालो सबैको आउँछ।"
लघुकथा
प्रतिकृया दिनुहोस