समर्थकलाई बालेनको अपील : विजय जुलुस हाेइन, धन्यवाद र्याली गर्नुहोला
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १५:३१:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। करिब २२ हजार मत गणना गर्न बाँकी रहेको अवस्थामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह)को जित निश्चित जस्तै भएको छ ।
उनी निकटतम् प्रतिस्पर्धी उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन् ।
पछिल्लो अध्यावधिक परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत पाएका छन् भने सिर्जनाले ३४ हजार ६०८ मत पाएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत पाएका छन् ।
महानगरको मेयरमा जित निश्चित भएसँगै बालेनले आफूलाई 'काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं' भनेर महानगरबासीले विश्वास गरेको बताएका छन् ।
देशभरका आफ्ना समर्थकहरु विजय र्यालीका लागि काठमाडौं आउन लागेको भन्ने चर्चाबारे पनि बालेनले प्रतिक्रिया जनाएका छन् ।
वक्तव्यको पूर्णपाठ
स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।
जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सधैं तपाईंहरुसँग जोडिरहेका हुन्छौं । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस