नोटको जतनमा नागरिक चेतना र राज्यको दायित्व
- अनुसा थापा
- २ कार्तिक सोमबार, २०८३ | ०७:३१:०० मा प्रकाशित
नोट राष्ट्रको सम्पत्ति हो। राज्यले खर्च गरेर नोट छाप्ने गर्छ। तर, त्यही पैसाको अलिकति पनि ख्याल गरिएको पाइँदैन। बैंक होस् वा व्यक्ति, नोटको सही प्रयोगमा ध्यान दिएको देखिँदैन। नोट कुच्याउने, खल्तीमा हालेर च्यात्ने, रङ लगाउने, कोर्ने लगायतका काम विगतदेखि नै हुँदै आएका छन्। नोट बिगार्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन।
अर्कोतर्फ, बैंकले नै नोटमा स्टिच लगाएर ग्राहकलाई दिने गरेको पाइन्छ। सेवाग्राही पैसा लिन जाँदा बैंकले स्टिच लगाइएको नोटको बन्डल थमाइदिन्छ। त्यस्तो स्टिच निकाल्दा नोट च्यातिने जोखिम हुन्छ। नोटमा स्टिच लगाउनुपर्ने आवश्यकता नै छैन। रबरले बाँधेर दिए पनि हुन्छ। यसो गर्दा नोट चलाउन र सुरक्षित राख्न सहज हुन्छ।
सार्वजनिक यातायात, ट्याक्सी तथा निजी सवारीसाधनमा सजावटका लागि नोट टाँसेको पनि देखिन्छ। कतिपय ठाउँमा नोटलाई बटारेर राख्ने, सिलाउने वा झुन्ड्याउने गरिन्छ। धार्मिक कार्यका क्रममा नोटमा रङ लगाउने चलनसमेत छ। तर, नोटमा रङ लगाउन मिल्छ कि मिल्दैन? रङ लगाउँदा नोट बिग्रन्छ कि बिग्रँदैन? यस्ता विषयमा आम नागरिकलाई स्पष्ट जानकारी दिन आवश्यक छ। नोटमा रङ लगाउने, लेख्ने, कोर्ने वा जलाउनेजस्ता कार्यलाई प्रचलित कानुनले निषेध गरेको छ।
नोट बिगार्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था छ। तर, न सरकारले प्रभावकारी रूपमा नियमन गरेको देखिन्छ, न त नागरिकमा पर्याप्त चेतना छ। दशैँका लागि भन्दै सरकारले हरेक वर्ष ठूलो रकम खर्च गरेर नयाँ नोट छाप्ने गर्छ। दशैँमा ती नोटमा रङ पोतेर, लेखेर वा अन्य तरिकाले बिगार्ने हो भने त्यसबाट राष्ट्रलाई फाइदा हुन्छ कि नोक्सान?
नोट छाप्न सरकारले राष्ट्रकोषबाट ठूलो रकम खर्च गर्छ। नोट छाप्न जति धेरै खर्च हुन्छ, त्यति नै त्यसको संरक्षणमा ध्यान दिनुपर्ने होइन र? सरकारले नोट बिगार्नु हुँदैन भनेर नागरिकलाई सचेत बनाउन सकेको छैन। अझै पनि नेपालमा नोटमा तेल खन्याउने, रङ लगाउने र विभिन्न धार्मिक तथा सामाजिक कार्यमा जथाभावी प्रयोग गर्ने प्रवृत्ति देखिन्छ।
पशुबलि दिँदा नोटमा रगत पोत्ने, रगत लागेको हातले पैसा समात्ने र त्यसपछि नोटलाई त्यत्तिकै चलनचल्तीमा ल्याउने गरिन्छ। रगत लागेपछि नोटमा तेल खन्याउने वा अन्य वस्तु लगाउने प्रवृत्तिसमेत पाइन्छ। के नोटमा यस्ता पदार्थ लगाउन आवश्यक छ? नोट राष्ट्रको सम्पत्ति हो भन्ने चेतना नागरिकमा हुनुपर्छ।
अधिकांशले नोटलाई खुम्च्याएर, च्यापेर गोजी वा पर्समा राखेको देखिन्छ। यसले नोट च्यातिने तथा बिग्रिने जोखिम बढाउँछ। नेपाली नागरिकलाई पैसाको महत्त्व र त्यसको संरक्षण कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी दिइएको छैन। लेख्नका लागि कापी छ, तर नोटमा लेख्ने, नाम लेख्ने र जथाभावी कोर्ने प्रवृत्ति पनि देखिन्छ। चुरोटले पोलेको अवस्थामा नोट भेटिने गरेका उदाहरणसमेत छन्।
पूजाआजा गर्ने क्रममा नोट चढाइन्छ। नागरिकलाई सचेत बनाउन देशभर विज्ञापन बोर्ड राखिएका छन्। तर, ती बोर्डले नागरिकलाई प्रभावकारी रूपमा सचेत गराउन सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्छ। साना सूचना, सामाजिक सञ्जालका सामग्री र जनचेतनामूलक अभियानमार्फत आम नागरिकलाई सचेत गराउन सकिन्छ। तर, यस विषयमा सम्बन्धित निकायले पर्याप्त ध्यान दिएको देखिँदैन।
अभिभावकले नै पैसाको जतन नगरेपछि छोराछोरीले के सिक्ने? नोटको संरक्षण गर्ने बानी घरबाटै सुरु हुनुपर्छ। छापिएको एक वर्ष नपुग्दै नोट बिग्रिने हो भने नेपालमा हरेक वर्ष ठूलो संख्यामा नयाँ नोट छाप्नुपर्ने अवस्था आउँछ। नागरिकले नोट छाप्दा आफूले तिरेको करसमेत खर्च हुन्छ भन्ने बुझ्न आवश्यक छ।
नोट जति सक्दो जतन गरेर चलाऔँ। रङ, अबिर, तेल र पानीले नोट नभिजाऔँ। नोटलाई च्यात्ने, कोर्ने, बटार्ने र जथाभावी गुटमुट्याउने काम नगरौँ। नोटलाई सफा र सुरक्षित राखौँ।
किनकि पैसा हामी सबैको सम्पत्ति हो। यसको संरक्षण गर्नु राज्यको जति दायित्व हो, नागरिकको पनि उत्तिकै जिम्मेवारी हो। सरकारले नागरिकलाई पैसा कसरी सुरक्षित राख्ने भन्ने विषयमा व्यावहारिक शिक्षा दिनुपर्छ। पैसाको महत्त्व सबैले बुझौँ।
दशैँमा नयाँ नोट वितरण गरिन्छ। दक्षिणा दिनका लागि सरकारले नोट साट्ने व्यवस्था मिलाउँछ। तर, नोट साट्न जाँदा नागरिकले लाइनमा बस्नुपर्ने, समय खर्च गर्नुपर्ने र दुःख पाउनुपर्ने अवस्था पनि देखिन्छ। नोट साट्दा खर्च लाग्छ, सर्वसाधारणलाई असुविधा हुन्छ। त्यसैले नोट साट्नुपर्ने अवस्था नै कम हुने गरी नोटको संरक्षणमा जोड दिनुपर्छ।
नयाँ नोट नेपाली नागरिकले प्रयोग गर्न नपाउँदै बिगार्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। नागरिक शिक्षित भएका छन्, तर व्यवहारमा पैसाको संरक्षण गर्ने बानी पर्याप्त विकास भएको देखिँदैन। नागरिकलाई पैसा कसरी चलाउने, कसरी जोगाउने र कसरी बचत गर्ने भन्ने व्यावहारिक ज्ञान दिनु आवश्यक छ।
नोट बिगार्ने काम नागरिकबाट मात्रै भएको छैन। राज्यका निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले नोट सुरक्षित रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्छ। नोटमा अनावश्यक स्टिच लगाउने, च्यातिने जोखिम बढाउने वा बिग्रिएका नोटलाई चलनचल्तीमा पठाउनेजस्ता कार्य रोक्नुपर्छ।
विदेशमा नोटलाई निकै जतन गरेर चलाउने अभ्यास पाइन्छ। कतिपय मुलुकमा कागजी नोटभन्दा बढी मूल्यका कारोबारमा डिजिटल भुक्तानी तथा अन्य माध्यम प्रयोग गरिन्छ। यसको एउटा उद्देश्य नोट छपाइको खर्च र व्यवस्थापनको भार कम गर्नु पनि हो। नेपालमा पनि पहिले एक र दुई रुपैयाँका नोट चलनचल्तीमा थिए। सरकारले २५ रुपैयाँको नोटसमेत निष्कासन गरेको इतिहास छ। अहिले कारोबारको स्वरूप फेरिएको छ। त्यसैले नोटको प्रयोग, संरक्षण र व्यवस्थापनबारे नयाँ ढङ्गले सोच्न आवश्यक छ।
राज्यले बजारमा कति पैसा छ, कति नोट बिग्रिएका छन्, कति नोट घरघरमा थन्किएका छन् र कति नोट चलनचल्तीबाट बाहिरिएका छन् भन्ने विषयमा तथ्याङ्कका आधारमा अध्ययन गर्नुपर्छ। बाढीपहिरो, आगलागी वा अन्य विपद्का कारण कति नोट नष्ट भए भन्ने विवरणसमेत व्यवस्थित हुनुपर्छ। नोट छाप्ने र खर्च गर्ने काम मात्रै गरेर हुँदैन; त्यसको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको समग्र अवस्था, सेयर बजार र घरजग्गाको मूल्यजस्ता विषयमा ध्यान दिइरहेको चर्चा हुने गरेको छ। तर, नोटको संरक्षण, नगदको प्रभावकारी व्यवस्थापन र सर्वसाधारणको आर्थिक व्यवहार सुधार गर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाउनुपर्छ। तलब, बचत र दैनिक कारोबारमा प्रयोग हुने नोटको संरक्षणबारे नागरिकलाई सचेत गराउनु राज्यको महत्त्वपूर्ण जिम्मेवारी हो।
सरकारले दशैँमा एटीएमबाट नयाँ नोट उपलब्ध हुने व्यवस्था मिलाइएको बताउने गरेको छ। तर, कतिपय अवस्थामा एटीएममा पर्याप्त नगद नपाइने वा अपेक्षित सेवा उपलब्ध नहुने गुनासो सुनिन्छ। यस विषयमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तथ्याङ्क सार्वजनिक गर्दै सेवा प्रभावकारी बनाउनुपर्छ।
बजारमा कारोबार सुस्त हुनु, मानिसले ठूलो रकम घरमै राख्नु र बैंकमा निक्षेप थुप्रिनुजस्ता विषयलाई पनि एउटै कारणसँग जोडेर हेर्न मिल्दैन। यस्ता अवस्थाको वास्तविक कारण पत्ता लगाउन तथ्याङ्क र अध्ययन आवश्यक हुन्छ। घरमा पैसा राख्ने प्रवृत्ति, लगानीको वातावरण, ऋणको माग र बैंकिङ सेवाप्रतिको विश्वासजस्ता विषयको छुट्टाछुट्टै विश्लेषण गर्नुपर्छ।
बैंकमा पैसा थुप्रिएर बसेको अवस्थामा पनि ऋण प्रवाह अपेक्षाअनुसार नहुन सक्छ। त्यसका पछाडि लगानीको वातावरण, कर्जाको माग, जोखिम मूल्याङ्कन र अन्य आर्थिक कारण हुन सक्छन्। त्यसैले बैंकमा निक्षेप धेरै हुनु मात्रै अर्थतन्त्र स्वस्थ रहेको प्रमाण होइन। त्यस्तै, ऋण प्रवाह कम हुनुको दोष एउटै निकायलाई दिएर समस्या समाधान हुँदैन।
विगतमा बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा ऋण दिने गरेका थिए। अहिले ब्याजदर घटेको अवस्थामा पनि ऋण लिन इच्छुक व्यक्ति वा व्यवसाय पर्याप्त नहुन सक्छन्। यसका कारण बुझ्न लगानीको वातावरण, बजारको अवस्था र व्यवसायीको मनोबलसमेत अध्ययन गर्नुपर्छ। नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै अर्थतन्त्रका समस्याको समाधान खोज्नुपर्छ।
बैंकिङ क्षेत्रको नियमन, निक्षेपकर्ताको बचतको सुरक्षा र वित्तीय संस्थाप्रतिको विश्वास कायम राख्नु राज्यको दायित्व हो। कुनै बैंक समस्यामा परेमा निक्षेपकर्ताले कसरी आफ्नो रकम फिर्ता पाउँछन् भन्ने विषयमा स्पष्ट व्यवस्था र समयमै सूचना उपलब्ध हुनुपर्छ। विगतमा समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताले बचत फिर्ताका लागि आन्दोलन र धर्नासमेत गर्नुपरेका घटनाले वित्तीय क्षेत्रको सुशासन र नियमनको महत्त्व देखाउँछन्।
सरकार र नियामक निकायले नागरिकको बचत सुरक्षित राख्ने, बैंकिङ प्रणालीप्रति विश्वास बढाउने र नोटको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ। नोट बिगार्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ। साथै, नागरिकलाई सचेत गराउने कार्यक्रम पनि प्रभावकारी बनाउनुपर्छ।
नोटको संरक्षण केवल सरकारको जिम्मेवारी होइन, प्रत्येक नागरिकको कर्तव्य पनि हो। नयाँ नोट छाप्न राज्यकोषबाट खर्च हुन्छ। त्यसैले नोटको जतन गर्नु भनेको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हो। दशैँमा नयाँ नोट साट्ने र दक्षिणा दिने परम्परालाई निरन्तरता दिँदै नोटलाई सुरक्षित राख्ने संस्कार पनि विकास गरौँ।
पैसाको मूल्य बुझौँ, पैसाको जतन गरौँ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार बनौँ। नोट बिगार्ने प्रवृत्ति रोक्न सरकार, बैंक तथा वित्तीय संस्था र नागरिक सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ।
नोट राष्ट्रको सम्पत्ति हो—यसको संरक्षण गरौँ।
प्रतिकृया दिनुहोस