लघुकथा : पीडाबोध
- अम्बिका धिताल
- १८ असोज मंगलबार, २०७९ | १६:५७:०० मा प्रकाशित
छोराबुहारी, नातिनातिना आएपछि घरै उज्यालो भयो।
बुबाले भन्नुभयो, "हेर भोलि हाम्रो घरमा चिची पकाउने अनि ऊ त्यो पर चौतारोमा बासँग पिङ खेल्न जाने है?"
नातिनीले खुसी भएर हजुरबुबाको काखमा लडिबुडी गर्दै भनिन्, "बुबा म नयाँ लुगा लगाउँछु अनि मलाई काँधमा बोकेर लानु ल?"
नातिले भन्यो "बुबा यहाँ त पसल नै छैन कहाँबाट ल्याउने त चिची?"
बुबा उत्साहित हुँदै बोल्नुभयो, "भोलि त हाम्रै घरमा खसी काट्ने हो नि।"
उसले जिज्ञासु नजरले सोध्यो, "खसी भनेको के हो? त्यसको मासु हुन्छ त?"
"हिँड म तिमीहरुलाई गोठैमा लगेर देखाउँछु।" भन्दै बुबाले दुबैलाई गोठमा लानुभयो।
"ए यो त हाम्रो किताबको गोट हो नि है बुबा?" उसले सोध्यो। बुबाले "होला, यसलाई मुना भन्नुपर्छ ल अब" भन्दै फेरि भान्सा कोठामा नै ल्याउनुभयो।
"भोलि त्यो मुनालाई के गर्ने बा" पुन: उसले सोध्यो? बुबाले भन्नुभयो, "यसलाई काट्ने अनि मासु खाने कति मिठो हुन्छ।"
नाति बोल्यो, "अँ बुबा हेर्नु त मेरो औँलामा बहिनीले पेन्सिलले खोचिदिँदा त कति दुखेको छ। त्यसलाई काट्दा दुख्दैन न त? उसलाई मारेर मासु खाँदा त्यसले हामीलाई कति गाली गर्छ? म त त्यसलाई काट्न दिन्न।"
कमलविनायक भक्तपुर।
प्रतिकृया दिनुहोस