कला

प्रतीक्षा

"पापा हामी ट्रेन नचढ्ने?"  मेरो सानो छोराको ट्रेन चढ्ने हुटहुटी शुरु हुँदै थियो। 

"अब एकछिनमा आउँछ बाबू।" कपाल सुमसुम्याउँदै म उसलाई सम्झाउँदै थिए। 

न्यु जल्पाईगुरिको ब्यस्त प्लेटफर्ममा हामी बिहान ७ बजे पुगेका थियौ। म ट्रेन भने ७:५५ को नियमित समयमा हुनेमा आशावादी थिए। 

'यात्रुवर्ग कृपया ०१२३५२३ कोलकता गुवाहटी प्लेटफर्म नम्बर २ ए मा आउन लागेको सबैमा जानकारी गराउँदछौ।' स्टेसनका विभिन्न स्थानमा फिट गरिएका साउण्ड बकसबाट निस्किरहेको ध्वनी थियो यो। विभिन्न ३-४ थरी भाषामा भनिरहँदा म भने ठ्याक्कै नेपालीमा बोलेको समाउन पुगेँ। 

"पापा ट्रेन आयो?" बाबू पुन: प्रश्न गर्दै म तर्फ हेर्छ। 

"छैन बाबू। अब आउन एकछिन समय लाग्छ। आउ तिमी माम खाउ हस्?" आमा म केही बोल्नु अघि नै बाबुलाई उत्तर फर्काउँदै सम्झाउँछे। 

बिहान झिसमिसेमा उठाएर ल्याएका थियौँ बाबुलाई। उसले  ट्रेन चढ्ने भनेर घरमा केही खान मानेन। हत्तारमा हामी धेरै काम छाडेर यता आएका थियौँ। यता भने ट्रेन समयमा न आउँदा हामी प्लेटफर्ममा पर्खन बाध्य भयौँ। 

प्लेटफर्ममा धेरै चहलपहल थियो। कोहि गन्तव्य समाएर घर तर्फ फर्किँदै थिए भने धेरै प्रतिक्षालयमा निरन्तर आउँदै थिए। धेरै मानिस त्यहाँ ठाउँठाउँमा झोला झ्याम्टा राखेर ट्रेनको प्रतीक्षा गर्दै थिए। सबै आफ्नो आफ्नो पालोको पर्खाईमा भए झैँ देखिन्थ्यो। 

'यात्रुवर्ग कृपया ध्यान दिनु, ०१४५२३ गुवाहटी आनन्द नगर एक्स्प्रेस प्लेटफर्म नम्बर ४-ए मा आईपुगेको जानकारी गराउँदछौँ।' पहिला जस्तै पुन: यो ध्वनी चारतर्फ गुन्जिन्छ। 

"यात्रु प्रतिक्षालय कता छ?" नजिकै रहेको नेपाली मुलका झैँ देखिने प्रहरिलाई हेर्दै मैले सोधेँ। 

"अलिक आगे गएर दायाँ लिनु न।" उनले सहजै नेपाली भाषामा जवाफ फर्काए।

उनको सहजै देखिने नेपाली भाषा भने दार्जिलिङ्गको स्वाद दिँदै थियो।

प्लेटफर्म भरी खोलिएका पसल हरुको व्यापार धमाधम थियो। इन्डियन रेलवे विश्वकै ठूलो ब्युरोक्रेटिक संस्था हो। यहाँ धेरैले रोजगार पाएका छन। सरसफाई कर्मचारी प्लेटफर्म सफाई गर्न ब्यस्त थिए, भिखारी माग्न ब्यस्त थिए, व्यापारी ब्यापारमा ब्यस्त थिए। सबै आफू आफूमा ब्यस्त थिए। म भने बाबू डोराउँदै यात्रु प्रतिक्षालय खोज्न ब्यस्त थिएँ। प्रतीक्षा गर्नेहरु भने फुर्सदमा थिए।  उनिहरुको समय भने ट्रेन कुर्नमा अडिएको थियो। 

घरको तनाब, ब्यस्त जीवनशैली र अफिसको धमाधम सबैबाट हामी टाढा जाँदै थियौँ। केहिदिन लाई रिफ्रेशमेन्ट पाउन थियो हामीलाई। 

"यात्रु प्रतिक्षालय। हो यहि हो।" आमाले हातका औलाले बोर्ड देखाउँदै भनिन। बाहिरको दृश्य हेर्दा हेर्दै हामी ठ्याक्कै त्यही पुग्यौँ।

ठूलो कोठा अनि वरिपरि वालमा कोरिएका भित्ते चित्र यानि वाल आर्ट। भित्ता सजिएका थिए हात्ती र झरनाको स्केचले। कोठाको चारकुना वरिपरि बस्ने ठाउँ । बिचमा कुर्सी अनि त्यहाँको गरम कम गराउन ठूल्ठूला फ्यान मचिमची चलिरहेका थिए। नजिकै यात्रुका सुविधालाई नुहाउन र दिशापिसाब गर्न सफा शौचालय। सफाई कर्मचारी धमाधम शौच र यात्रु प्रतिक्षालय सफा गर्न ब्यस्त थिए। 

भारी बिसाएर वरिपरि आँखा नियाल्दै गर्दा त्यहाँ यात्रुहरुको आ-आफ्नै कथा पक्कै थियो। कोहि मस्त गहिरो निन्द्रामा थिए, कोहि मोबाईल चलाउन ब्यस्त थिए, कोहि आउँदै थिए कोहि जाँदै थिए। सबैको आफ्नो आफ्नो ट्रेनको प्रतीक्षा थियो। केही महिलाहरु गफ गर्दै वरिपरिका दृश्य हेर्दै थिए। 

"ए चाय चाय। लेमोन टि, ब्लेक टि लेङ्गे आँप?" चायवाला चिया श्रीमतिलाई सोध्दै आयो। श्रीमती जी नखाने भन्दै मुन्टो हल्लाउनु भयो।

"ए ब्याग चैन , सुटकेश व्हिल बनाईए" दोश्रो ब्यक्ति व्यापार गर्दै आयो। 

"जुत्ता पोलिस जुत्ता पोलिस" तेश्रो ब्यक्ति जुत्ता मर्मत गर्ने उद्धेश्यले आयो।

'यात्रुगण कृपया ध्यान दिजिए....म केही नसुनी घडी हेर्न तर्फ लाँगे र अनलाईनमा ट्रेन कहाँ आईपुग्यो भनी हेरे। अहो अझै १/२ घण्टा लेट देखाउँदै थियो। 

यात्रु विश्रामालयमा एक अधबैंसे मानिस नुहाउँदै त्यहाँ आईपुगे। रुमाल बेरेर निस्किएका ती ब्यक्तिलाई हेरेर त्यहा बसेका महिलाहरु आँखा जुधाई गर्दै ईशारा गर्दै थिए। आफ्नो आँखा छल्दै उनिहरु लाजले शिर लुकाए। 

"ए टिशर्ट टिशर्ट।" नयाँ टिशर्ट ल्याएर एक व्यापारी बेच्न ब्यस्त थियो। एउटा सानो प्लेटफर्म भित्रको प्रतिक्षालयमा पनि अनेकन दृश्य पाईने। 

एक मानसिक सन्तुलन गुमाएको ब्यक्ति त्यहीँ आएर छेउमा सुत्यो। त्यहाको सफाई कर्मचारिले उसलाई उठाएर बाहिर पठाउँदा एकछिन त्यो ब्यक्ति कराएर सबैको ध्यान आफूतिर खिच्यो। सफाई कर्मचारीले उसलाई बाहिर निकाल्दै कोठाको हल्ला शान्त पार्दै थियो।

'०३१०१ प्लेटफर्म नम्बर ०१ ए। यात्री गण कृपया ध्यान दिजिए... 'कान ठाडा पार्दै म आफ्नो ट्रेन आउन लागेको ले हतार हतार लगेज बोक्दै बाहिर जान बाबू र श्रीमतीलाई भन्दो भए।

हामी धेरै ढिला भैसकेका थियौँ। तर यश यात्रु प्रतिक्षालयको धेरै किसिमका दृश्य मनमा कैद गर्दै त्यहाँको वातावरणबाट बाहिर निस्कियौँ। ट्रेन प्लेटफर्ममा आउन लागेको थियो। तर मेरो ध्यान भने त्यही प्रतिक्षालयमा थियो।

तपाईँको मत