कला

दशैँको किनमेल

"दशैँ आयो दशैँ आयो। लौ लिनुहोस थरिथरिको उपहार" लाउड स्पिकरमा घन्किएको ध्वनी हो यो। बजारमा चोक चोकमा घन्किरहेको छ। पसल पसलको व्यापार गर्ने नयाँ शैली बनेको छ स्पिकर। एकछिनमा अर्को सिटिसफारीबाट आवाज आउँछ।

 "दशैँमा खाली हात फर्कन नपर्ने भाग्यमानी बन्नुहोस, आउनुहोस्।" बिज्ञापन गर्ने अनेक तरिका केशव यो सब सुनिरहेको छ।

अलिक पर बिस्तारै हिँडदै गरेको केशवको खुट्टा एकछिन अडिन्छ। उसको आँखा र्‍याकमा राखिएको सुन्दर सारीमा पर्छ। ट्यागमा लेखिएको थियो "१५०० मात्र।" उ उभिएको देखेर पसले भन्दै थियो " नयाँ दशैँ स्पेसल भाईरल सारी मात्र रु १५०० मा"। उ नपत्याउँदै सारीको छेउ छाम्छ अनि त्यहा लेखिएको मूल्य हेर्छ।  

उसको मनमा मनोवाद उत्पन्न हुन्छ अनि उ सोच्दछ..

"अहो १५०० रहेछ। श्रीमती गिताले ल्याईदिनु भनेकी थिइ। पोहोर साल पनि दिन पाईन यसपाली त जसरी नि किन्दिनु भनेकी छ।" 

कसो पो गर्ने हो। हुनत केशव आज दशैँको किनमेल गर्न पनि निस्किएको हो। पेसाले उ भरिया हो उसको केही दिन अघिबाट कमाई राम्रो भएको छैन। उसले जति जोहो गरेपनि दैनिक रासनमा उसको कमाई सकिन्छ। परिवारमा सानो ७ वर्ष कि एउटि छोरी छे र अर्को ५ वर्षको छोरा पनि "बाबा के किन्दिने मलाई?" भन्दै तोते बोलीमा उसलाई बारम्बार प्रश्न गरिरहेको हुन्छ घरमा। छोरीले त झन फिर्‍र परेको जामा किनिदिनु भनेकी छे। "ए साहुजी यहि अलिक सस्तोमा छैन?" र्‍याकको एउटा रातो सारी हातमा लिँदै केशव सोध्न पुग्छ।

"छैन भाइ। यहि हो सबै भन्दा सस्तो तिमीले समाएको।" पसले हतारमा जवाफ दिन्छ।

"साहुजी यसो मिल्दैन यसमा?" केशव गोजीमा हात हालेर छाम्दै आफ्नो दिनभरको कमाई सम्झन्छ। उसको रुप अलिक अँध्यारो भएको प्रष्ट देख्न सकिन्छ। एकछिन अगाडिको उज्यालो केशब थोरै खुम्चिन पुग्छ। यत्तिकैमा साहुजिको जवाफ आउँछ "अह मिल्दैन भाइ।" 

केशव साहुको जवाफ भुइँमा नखस्दै नैरश्यताले भरिएको मनले दाहिने गोजिमा भएको पैसा निकाल्दै देब्रे हातमा राख्छ। देब्रे हातमा खुम्चिएका नोटहरुका थाक लाग्न थाल्छ। २०-५०-१०० दरका केही नोट मिलाउँदै उ आफ्नो चिउँडोको पसिना दाहिने हातको बाहुलाले पुस्छ। "केही नहुनु ठूलो अभिशाप रहेछ। हामी निम्न वर्गलाई यो दशैँको किनमेल कति असहज हुने।" उसको मनोबैज्ञानिक तर्क हो यो।

खुम्चिएका हातको पैसा मिलाई सकेर उ गन्ती गर्छ। "७००-७२०-७७०...९००..१०००..११०० अनि यो ५० थप्दा ११५० अहो जम्मा ११५० मात्र रहेछ।" पुलुक्क पसले तर्फ हेर्दै केशव भन्छ " साहुजी ११५० मात्र रहेछ अहिले यत्तिमा दिनुन बाँकी म भोलि दिउँला हुन्न?" उसको अनुरोध सुनेर पसले आगो बन्छ रिसले र झपार्दै भन्छ "ए भाइ सस्तो सारी चाईयो भने अन्तै जाउ न यहाँ कम रेट भन्दै बार्गेनिङ्ग नगर। कस्तो कस्तो मान्छे आउँछ यार? झन २५०० पर्ने सारी होलसेलमा सस्तोमा दिइरहेको छु। यो मान्छे आधा घण्टाबाट एउटै कुरा गरिरहेको छ। लौ अन्तै जाउ।" कमाउने मात्र चाह भएको पसलेले उसको गरिबी बुझेन अनि बेसरी झपार्दै उसलाई अब बार्गेनिङ्ग नगर्न अनुरोध गर्छ।

अलिक पर रहेको पार्किङ्ग स्थलमा एउटा निलो कार आएर पार्क गर्छ। त्यहाँबाट २ जना महिला निस्केर आउँछन्। अनि उनैसंग देखिएका सवारी चालक पनि आउँछन् त्यही पसलमा। दुबैजना मुल्री हेर्छन अनि राखिएको ट्याग देखेर "यी सुतिका सारिहरु कति सस्तो है यहाँ? भन्दै एउटी कुरा शुरु गर्छे। 

"अ होनि। त्यसैले मैले तलाई यहाँ ल्याएकी। हिजो बजार आउँदा मैले देखेको थिएँ। अनि तैले त पत्याएकी थिइनस नि मोरी। अहिले कस्तो लाग्यो त?" अर्कि खुशी हुँदै प्रश्न तेर्साउँछे।

पहिलो महिला अवाक परेर राखिएका सारी हेर्दै उसंग आएको लोग्नेमान्छेलाई हेर्दै भन्छे "बाबा अनि किनौ म? यही रहेछ राम्रा सस्ता सारी अन्त किन जानू अब।" 

"हुन्छ राधा तिमी लिउँ न।" मोबाईलमा एकोहोरिँदै त्यो लोग्नेमान्छे उसको श्रीमतिलाई लिन अनुमती दिन्छ। यो सब हेरीरहेको केशव आफ्नो श्रीमतिलाई साथमा किनमेलमा ल्याउन नसकेकोमा झन धिक्कार मान्छ। 

केही समयपछि उ त्यहाँको ब्रातो सारी सुमसुमाईरहँदा त्यहि सारी र्ती अर्कि महिलाले पसलेलाई देखाउँदै भन्छे "लु यो कति राम्रो रहेछ। यो पनि प्याक गर्दिनु न है।" 

"हुन्छ हजुर यो सहित हजुरको आठ ओटा सारी भयो। अरु हेर्नू हुन्छ कि?" पसले छडके आँखा केशवतर्फ हेर्दै ब्यंग्य गर्न खोज्छ। 

"छैन त्यति हो।" राधा जवाफ दिन्छे।

"हस हजुर मात्र १२०००/- भयो।" सामान प्यक गर्दै पसके मूल्य सुनाउँछ।

"बाबा लु १२०००/- दिनु न।" राधा उसको श्रीमान तर्फ हेर्दै पैसा माग्छे। श्रीमान एक शब्द नबोली आफ्नो पर्स उसको हातमा समाउँछ। 

ती दुई महिला र एक पुरुष आफ्नो किनमेल सकाएर पार्किङ्ग्मा राखिएको कार तर्फ अगाडि बढ्छन। केशव उनीहरुको भाग्य हेर्दै आफ्नो गरिबी तर्फ नैरश्यता बढाउँछ। उसले मनमनै सोच्छ "अहो कति भाग्यमानी ती महिला र कति सक्षम ती मुन्छे। उनीहरुको खर्च हेर्दा पैसाहो कि कागजको खोस्टो केही मतलब देखिन मैले। उता आफ्नो श्रीमती भने त्यही एउटा सारीमा अल्झिएर खुशियाली मनाउन बसेकी छे। म भने एक कुपात्र झै आफ्नो श्रीमतीको खुशीका लागि केही गर्न सकेको छैन। 

छेउमा बसिरहेको केशव अनेक कुरा खेलाउँदै टोलाईरहन्छ। उसले कम्मरमा भिरेको नाम्लो डोरी हातले समाउँदै भन्छ "के हामी निम्न आय हुनेको जीवनमा कहिले दशैँ आउँदैन? खै पैसाको जोह मैले कहिले गर्न सकिन। न त मैले आफ्नो भाग्यलाई दोष नदिएर आयमुलक काम गर्न सके। मेरो जस्तो जीवन कसैले नपाओस। आफ्नो परिवारलाई कहिले खुशी पार्न नसक्ने नै भए म।" 

नैरश्यताको बादलले घेरिएको केशव त्यहाँबाट उठेर हिँड्छ। घर पुग्दा श्रीमती उसलाई घर बाहिर नै पर्खिरहेकी हुन्छे। आज त मलाई केशवले कपडा किन्दिए होला भनी परबाट आउँदै गरेको  देखि उत्साहित हुन्छे। अँध्यारोमा सडक बत्तिको उज्यालोमा बेला बेला देखिने केशव दुई पोलको बिचको अन्धकारमा फेरि हराउँथ्यो। श्रीमती गीता भने अतुर भएर उनीहरु बसिरहेको डेरा बाहिर बसेकी हुन्छे। केशव जति नजिक आउँछ उत्ति उसको खुशीको भाव हराउँदै जान्छ। उसको खाली हात देखेर गीता निरास बनी कोठामा छिर्छे। 

थकित केशव कोठामा आउँदा नानीहरु पढिरहेका हुन्छन्। छोरी पनि बाउ तर्फ हेरेर दिनभर बाले ल्याईदिने कपडा सम्झेर खुशी भएकी थिइ तर एक्कासी उ पनि घोप्टो परेर रुन थाल्छे। खै केशवको घरमा सुनसान छ। मानौँ उसको दशैँ हैन उसको लागि सदा झैँ एउटा कालो दिन आएको छ। आज पनि उसले किन्न सकेन। उ श्रीमतीलाई भन्दै थियो "गीता यसपालीको दशैँमा म गज्जबको राम्रो सुतिको सारी किनिदिन्छु।" 

गीता उसको कुरा हावाले उडाए जस्तै बिना केही भाव भान्सामा भात पस्किन छिर्छे केशव गीता रिसाएकोमा स्पष्ट हुन्छ। उ फेरि आफू सफल नभएकोमा आफैँलाई धिकार्छ। भुईँमा थचक्क बस्दै केशव आफ्ना छोराछोरी हेर्दै टोलाउन पुग्छ। खै उनीहरुको खुशी निर्धक्क कहिले पूरा गर्न सक्ने हो केशव कतै टोलाए झै एकलै टोलाईरहन्छ।

तपाईँको मत