ब्लग

सालिक चित्कार

म सालिक हुँ। मलाई विभिन्न  स्थानमा सजाईएको हुन्छ। मलाई विभिन्न रुप दिएर बनाईएको हुन्छ। कतै म कुनै वस्तुको आकृति जस्तो देखिन्छु त कतै म मानवको प्रतिमाको रुपमा देखिन्छु। मलाई धेरैले आफ्नो योजना अनुसार सजाएका हुन्छन्। मेरो महत्व धेरै छ। म दुई प्रकारले बनाईएको हुन्छु। एउटा पूर्ण कदको अनि अर्को अर्ध्वकदको।

म एउटा इतिहास हुँ भन्दा फरक नपर्ला। असल चरित्र एवम खराब चरित्र दुबैको प्रसिद्धिको हिसाबमा सालिक बनाईएको हुन्छ। सालिक भन्न साथ ढुङ्गामा कुदिएको वा अहिले आएर सिमेन्टको ढलान गरि एउटा पूर्ण रुपमा कलाकारको हातको कला र परिश्रमबाट बनाईएको वस्तुगत आकार हो भन्दा फरक नपर्ला। मलाई प्राचीन काल देखि नै बनाउँदै आईएको छ। मेरो विशेषता भनेको कुनै वस्तु वा ब्यक्तिको प्रतिमा हो भन्दा फरक पर्दैन।

इतिहास पल्टाएर हेर्ने हो भने पृथ्वीनारायण शाहको रुपमा जति सालिक मेरो देशमा थिएन। अहिले त सबै कता तोडिए कता फ्यालिए। विभिन्न काल खण्डमा विभिन्न राणा, राजा र देशका विशिष्ठ ब्यक्तिहरुको प्रतिमा बन्दै आईरहेको छ। त्यसरि नै प्रतिमाका रुपमा विभिन्न स्थानका महत्वको दृष्टिकोणले विभिन्न सालिक अनवरण भएका छन्। महाकवि देवकोटा देखि आदिकवि भानुभक्त आचार्य सम्मका सालिक निर्माण भएका छन्। राष्ट्रिय धरोहर एवम विभूतिहरुका पनि प्रतिमा अनावरण गरिएको छ। कतै बाघ भालु संरक्षणको लागि वन्यजन्तु हुने स्थानमा त्यहि स्थानको महत्वको सालिक बनाईएको हुन्छ भने कतै सब्जी फलफुलको स्थानले प्रसिद्ध क्षेत्रमा सब्जी फलफुलको प्रतिमा बनाईएको हुन्छु। 

वीर सहिदहरुको सम्झानामा बनाईएको सालिक अहिले पनि सहिद गेटमा मा ठडिएको छु।  राणाकालमा मलाई राणाहरुले आफ्नो बाउ बाजेको सम्झनामा एवम कृति फैलाएकोमा स्थापना गरे। प्रजातन्त्र आए पछि राजाहरुले मलाई आफ्ना पुर्खा हरुको चिनारिका रुपमा प्रतिमा ठडाएका थिए। २०४६ सालमा बहुदल आएपछि मलाई विभिन्न दलका शिर्ष नेता एवम नेतृत्वको देहान्त पछि सालिकका रुपमा अनावरण गरेका थिए। 

राजतन्त्र मास्दै २०६३ सालमा भएको शान्ति सम्झौता एवम माओवादी द्वन्दको अन्त्यपछि स्थापित लोकतान्त्रिक गणतन्त्र नेपालमा भने म झन विविध रुपमा देशभरि स्थापना हुन पुगे। माओवादी द्वन्द्वकालमा राजा एवम ऐतिहासिक व्यक्तित्वहरुको सालिक तोडफोड नभएका होइनन। एउटा सालिक तोडेर जिउदो इतिहास मार्ने रणनीति अपनाएको त्यस बेलाको बिद्रोही समूहले देशका विभिन्न स्थानमा रहेका राजा हरुको सालिक तोडदै निरकुंश राजतन्त्रको अन्त्य गरेको जनाएको थियो।

सालिक त बनिन्छन तोडिन्छन तर इतिहास कसैले कहाँ तोड्न मोड्न सक्छ र? ईतिहास त लेखिएको हुन्छ म त केवल एउटा प्रतिमा हुँ त्यसको प्रतिमुर्ती दिन चाहने। त्यसैले मलाई तोडमोड गर्दैमा म कहाँ नाश हुन्छु र? मलाई एक प्रकारको समूहको साथ रहन्छ जसले तोडमोड भएपछि जोड जाड गरेर वा नयाँ बनाएर पनि स्थापना गर्छन्।

अब लागौँ गणतान्त्रिक नेपालको कुरा गर्न। मेरो जति महत्व पहिला थियो अहिले त्यति छैन। म पहिला पहिला मन फुरुङ्ग गर्दथे।  कसैले मलाई कतै स्थापना गर्दा ठूलो जयजयकार हुने गर्थ्यो। मेरो सालिक राखेको दिन ठूलो सभा आयोजना हुन्थ्यो। पत्रपत्रिकामा गुणगान कोरिएको हुन्थ्यो। हेडलाईनमा कसको र किन बनाईए भनी टिकाटिप्पणी हुने गर्थ्यो। मेरो विषेशता अभिन्न थियो। म महत्वका साथ हेरिन्थेँ। 

अहिले म चिन्तित छु। मेरो अस्थिर समय चलेको अनुभव गरेको छु।  अहिले त पाईला पाईलामा सालिक निर्माण हुन थालेको छ।  कहि कुनै विशेषताबिनाको सालिक निर्माण। कहि कतै आवश्यकता बिनाको। यस्तो लाग्छ कि स्थानीय तह आफ्नो बजेटको केही भाग सक्न र कमिशनमा काम गर्न धमाधम सालिक निर्माणमा पैसा खर्च गरिरहेको छ। केही महिना अघि मात्र माओवादी अध्यक्ष प्रचण्डले आफ्नै छोराको सालिक अनावरण गरे। उनको छोराले यो देशमा के नै देन दिएका थिए र? उनी बिद्रोह गरिरहँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक भत्काउन अभ्यस्त थिए। अहिले उनी त्यसैमा लालायित बनी सलिक खडा गरेका छन्।

त्यस्तै पाईला पिच्छे ठडिएका चोक चोकका सालिक देखेर म छक्क पर्छु। मेरो महत्व गिराउन भर्खरै बेलबारिमा कानको सालिक खडा गरेछन त्यहाका जन प्रतिनिधिले। अब कुनै दिन कानेगुजिको सालिक पनि निर्माण नहोला भन्न म सक्दिन। 

हुन त बनाउने ले बनाउन न कसैले सम्मान का रुपमा बनाउँछन कसैले  सालिक अपमानका रुपमा। मेरो आफ्ग्क्कनै चिनारी छ। म इतिहासमा चिनाउनलाई बन्छु। कसैले सर्वमान्य रुपमा लिएको मलाई कसैको लागि म अमान्य हुनसक्छु। कसैको प्रिय बनिरहँदा कतिको आँखा को कसिङ्गर झै अप्रिय हुनसक्छु। 

माओत्सेतुङको सालिक कम्युनिस्टलाई मन पर्न सक्छ तर काङ्ग्रेसलाई मन पर्न असम्भव छ। कारण उनीहरुको बिचार मिल्दैन। त्यसै गरि कङ्ग्रेसको गणेशमान र बिपि कोईरालाको सालिकलाई कम्युनिस्ट ले मन पराउन सक्दैनन्। उनीहरु फरक रथका पाङ्ग्रा हुन्।

सबैले हेर्ने दृष्टिकोणलाई म फरक फरक रुपमा बुझ्नेगर्छु। त्यसैले त म सालिक हुँ मेरो आफ्नो छुट्टै पहिचान छ। तर समय अनुरुप मेरो महत्व किन हो ह्रास आउँदै गएको पाउँछु। सायद समय्ले मेरो परिभाषा फेरिदिन खोज्दै छ। तर म उहीँ पुरानो परिभाषामा रमाउन चाहन्छु। त्यही पुर्ण महत्वमा हेरियोस भन्न चाहन्छु। ईतिहासले सदैव सम्मान गरोस भन्ने चाहन्छु। 

साथै देशमा सालिक निर्माण गर्नपर्दा महत्व र देनको हिसाबमा गरियोस। जहितहीँ सालिक बनाएर जनताको ढुकुटी नसकियोस्। विकास निर्माणमा टेवा पुग्ने काम गर्न राम्रो मलाई जहाँतहाँ स्थापना गर्नु भन्दा। कुरुप सालिकको शहर भन्दा शोभनिय र आकर्षित सालिक बनाएर सौन्दर्यको कलात्मक उदाहरण प्रस्तुत गरियोस्। मेरो भन्नू यति छ। 

मेरो नजरमा...

मैले उभिँदा उभिँदै धेरै समय काटी सके। धेरै काल बितिसक्यो। यो आँखाले विभिन्न काल खण्डका विभिन्न ऐतिहासिक गतिविधि नियालेका छन्। मैले राणा शासन देखेँ, मैले प्रजातन्त्र देखेँ। मैले राजतन्त्र देखेँ त्यसरिनै मैले बहुदल देखेँ। मैले अन्त्यमा गएर गणतान्त्रिक नेपाल पनि देखेँ। म कतै सहिदको नाममा परिचित छु त कतै योद्धाका रुपमा कतै इतिहासको पानामा कैद छ मेरो अस्तित्व त कतै पुर्खाको चिनारी मा।

निल आर्मस्ट्रोङ्ग देखि एडमण्ड हिलारि सम्म, गौतम बुद्ध देखि अरनिको सम्म। भृकुटी, सीता, पासाङ ल्हामु शेर्पा आदि विश्व चर्चित व्यक्तित्वको रुपमा म विभिन्न स्थान, पार्क, हाईवे, म्युजियम वा चोकमा आसिन छु। जुद्ध शम्सेर हुन या राजा त्रिभुवन, जङ्ग बाहादुर हुन वा बिपि कोईराला म एउटै रुपमा अडिग बनी उभिएको हुन्छु। यो संसार नियाली रहेको हुन्छु। 

तर कहिलेकाहिँ दुःख लाग्छ। मलाई पहिला पार्कमा सुन्दर रुपमा सजाउँछन त कतै सडकमा। शुरु शुरुमा आनन्द लाग्छ। मन हर्षित हुन्छ। धेरै मानिस मलाई हेर्न आउँछन्। फोटो खिचेर संझना स्वरुप याद कैद गरेर लान्छन्। सामाजिक सञ्जालमा फोटो हाल्छन् अनि मायाले दुई शब्द लेख्दै भावानात्मक संबन्ध कायम गर्छन्। म प्रफुल्ल हुन्छु। अनि खुल्ला आकाश मुनि बिना छानो बस्दा पनि भाग्यमानी सम्झन्छु आफूलाई। 

तर समय बित्दै जान्छ रंग रोगन दलिएको मेरो शरिरमा सडकको धुलोले ढाक्दै जान्छ। मलाई सुसज्जित गरिएर राखेको महिना दिन बितेपछि मलाई हेरबिचार गर्ने कोहि हुँदैन। ममाथि चराहरुले थकाई मार्ने स्थान बनाएका हुन्छन्। मेरो शिरमा बिस्टाउँदै चराचुरुङ्गी यता उति रमेर खेल्छन। मलाई फोहोरको र धुलोमा सिकसिको लाग्दै बस्नु बाहेक अर्को उपाय हुँदैन। बेला बेला पर्ने आकाशे वर्षाले मेरो शरिरको फोहोर पखालिएर जान्छ। शरीरको च्याप च्याप भने कहिलेकाहिँ उत्तिकै बसेको हुन्छ। तर जे होस मलाई मौसम हरुमा सबैभन्दा बढि वर्षा मन पर्छ।

शरीरको फोहोर त वर्षाले लिएर जान्छ। तर मेरो वरिपरिको फोहोर कसले लाने? कहि कहि समूह एवम सरसफाई कर्मिले सफा गर्छन्। कहिँ त कोहि हुँदैनन् मेरो हेरबिचार एवम निगरानी गर्न। मेरो अगाडि आएर फोटो खिचेपछि कतिले त्यहिँ पानीको बोत्तल छाडेर जान्छन्। अलि अलि गर्दै मेरो वरिपरि हेर्न आएको जमातले फोहोर थुपार्दै जान्छ्न् अनि त्यहाँ केहि समयपछि फोहोरको थुप्रो देखिन थाल्छ। म दुर्गन्धित एवम असोभनिय देखिन पुग्छु। पछि घुम्न आउनेले म फोहोरी उभिएको स्थानमा किन जाने? भनी प्रश्न चिन्ह तेर्साउँछन्। मेरो शिर त्यसबेला नहल्लिए पनि म झुकेको अनुभव गर्छु। म निरुत्साहित बनी पारी क्षितिज सम्म सरसफाईको प्रतिक्षामा बस्छु। टोलाउँदै दिन पर्खिन्छु कतै मेरो सम्मानमा कुनै संघसंस्थाले लिप पोत गर्न आईहाल्छन कि भन्दै।

तसर्थ म भन्छु मलाई ठडाएर वा बजेट सकेर मात्र केहि हुँदैन। मेरो पूर्णकालिन हेरबिचार गरियोस, मेरो महत्व प्रस्तुत गरियोस्। आकर्षक एवम  सफा वातावरण निर्माण गरियोस्। अंगभंग म बनिरहँदा वा तोडफोड गरिरहँदा मेरो समयसमयमा पुन: निर्माण गरियोस अस्तित्व नमासिने गरि। मेरो यति भन्नू छ।

अन्त्यमा एउटा कविता सुनाएर जान्छु। मैले जीवनमा जे भोगेँ अब त्यस्तो नहोस भनेर। वडाध्यक्ष देखि नगर प्रमुख सम्म यस्तो वार्तालाप कहिले नरहोस् ।

के बनाउँ मालिक?

नाकको सालिक

के बनाउँ मालिक? 

खुट्टाको सालिक।

के बनाउँ मालिक? 

आँखाको सालिक।

के बनाउँ मालिक?

तपाईँको मत