आमा अब त उठन
- रामबाबु सुवेदी
- १२ फाल्गुण सोमबार, २०८१ | १९:५१:०० मा प्रकाशित

आमा अब त उठन
तिमी सुति रहेछौ यहाँ..
उठ यहाँ कति भिड छ
यो भिड लाग्छ तिमीलाई हेर्न आएका हुन्
तिमी लामो निन्द्रामा श्ययामा लडिरहेछौ
म अबोध बालक तिमीलाई टुलुटुलु हेरिरहेछु
मलाई यो भिडसंग डर लागिरहेछ
आमा अब त उठन।
सबै रङ्गहरुमा म रम्न सिक्दै छु
तोतेबोली पनि सकिएको छैन
तर तिमीसंग म बोल्न सिक्दै छु
अनकन्टार यो खोलाको बिचमा
हरेक नयाँ नयाँ अनुहारको माझमा
म तिम्रो साहारा खोज्दै छु लुटपुटिन खोज्दैछु
मलाई यो भिडसंग डर लाग्दैछ
आमा अब त उठन।
सबैलाई देखेर मुसुक्क हास्ने मेरी आमा
आज किन हावाको बेग रोकिएझैँ
नदिको बहाब बग्न थामिए झैँ
दिनको उज्यालोमा पनि अँध्यारो छाए झैँ
तिमी मौन नहासी पल्टिरहेकी छौ
आमा यो शुन्यता चिरेर
मलाई साहारा देउ तिम्रो मुस्कान फैलाएर
आमा अब त उठन।
रातो रङ्गमा रङ्गिएकी तिमी
रातै सारीमा सजिएकी तिमी
अबिर लगाई श्रीङ्गार भरि
मौनतामा अहिले कतै टोलाएकी तिमी
सबेरै त बिउझेलाउ तिमी आमा
तर यो भिडले तिमीलाई निल्ने डर छ
दाउराको चाङ बनाई चिता तयार गर्दै
आमा अब त उठन।
सधैँ बाधिएको कपाल हुने तिम्रो
आज किन सबै फिजारिएको छ
घरको धमाधम अनि भागदौडमा ब्यस्त तिमी
तिम्रो चलयमान शरीर आज अचेत बनेको छ
बुवा अनि हामी दु:खमा परेका छौँ
यो आँसु रोक्ने सामर्थ तिम्रो छ
तिमी धागो बनी माला झैँ गाँस्नलाई
आमा अब त उठन।
गुरुले पाठ सकि दियो बाल्न लाए
मेरा दाईलाई तयार गरि दागबत्ती दिन लाए
दाउराले थिचिएको तिम्रो शरिरमा
चोट कति लाग्यो होला, कति गाह्राे भयो होला
भिड जुर्मुराउँदै तिमीलाई हेर्न अघि सरे
आगो दन्किदा तिमीलाई पोल्यो कति होला
म अबोध बालक उद्धार गर्न सकिन तिम्रो
आमा अब त उठन।
भिडमा धेरै मिश्रित आवाज आएको सुनेँ
“अब त घरपरिवार कै हरिबिजोग हुने भयो”
“त्यो सानो बच्चाको आमा बिनाको भविष्य?”
“कति मेहनती थिई असोचनिय घटना भयो”
“चिता जल्न थाल्यो” तिम्रो शरीरमा आगो दन्कियो
नानाथरी यस्ता प्रश्नको जवाफ म कसरी दिउँ?
ढिला नगरी उठि सबैलाई उत्तर देउन आमा
आमा अब त उठ।
प्रतिकृया दिनुहोस