कला

अफलाईनको तनाव...

सधैँ सधैँ दिनरात बोलिरहन खोज्ने उनको आज मेसेज आएन। मैले धेरै पटक मेसेज सेन्ड गरे पनि उनी अनसिन बनी बसिरहिन। उनको अनलाईन मा हरियो बत्ती बलेपनि आज किन हो मेसेज बक्समा हरियो बत्ती बाल्दै टङ्ग आवाज निकालेर उनको मेसेज आएन।

मलाई आज मेसेज गर्दै हेल्लो भन्न अफ्ट्यारो लाग्यो। मनमा सकस भयो। सधै उनले हासेर बिहान आफै एउटा फोटो पठाउथिन तर आज उनको मौनताले सबै वस्तु मेरोविरुद्ध हिडे जस्तै अनुभव गरिरहेको छु। काली फोटो पठाउन भनी लेख्न पनि डर लागेको छ। त्यति अनुरोध गर्न लाई मेरा औला कापी रहेका छन। फोटो  पठाउँदा पनि ठुस्स रिसाएर पठाउने हो कि भन्ने पनि पिर लागेको छ। कसरी अनुरोध गरौ देखिदैन तर मुटुमा तीखो तीर लागेको छ।

कस्तो बानी लाग्यो। कस्तो नशा लाग्यो मलाई तिम्रो। कति समय म तिम्रो मीठो मुस्कान सम्झेर हासेको छु तिमी सोच्न सक्दैनौँ।  मलाई औशीको दिन पनि चन्द्रमा खुले जस्तो लागेको थियो। औँशिको रातमा मैले तिमीलाई सम्झेर एक हरफ लेखेको थिएँ। 

नलेखौँ भन्दा पनि मनले मानेन र मेरा औँला आफैँ चलेको थियो। 

"सुन न आज यो साँझ झिलमिल लाग्दै छ

किन हो मनमा अनेक कुरा जाग्दै छ

म सोच्छु खुशी छौ मेरो प्राप्तिमा

जुनकिरीको धिपधिप औँशिको यो रात्रीमा।

सुन न आज यो साझ रंगिन लाग्दै छ

तिमी संगको साथ संगिन लाग्दै छ 

म सोच्छु तिमी छौ मेरो समिपमा

तिम्रो प्रेमको आलिंगन मेरो नसिवमा।"

कस्तो अन्धकारमा उज्यालो चन्द्रमा मा रमाईरहेको म एकासी कालो बादलले चन्द्रमालाई ढाके जस्तो.. एकैछिनमा ग्रहण लागे जस्तो लाग्यो। 

चन्द्रमा त नियमित प्रक्रिया हो भनी खुशी भएको होला तर मलाई त मन बुझाउन सारो लाग्यो। 

हँसिलो मुहारमा आज मुस्कान देख्दिन... हाँस्न खोजेका मेरा ओठलाई कालो बादलले चन्द्रमालाई घेरेको दृश्य देखिरहेका आँखा संग जलन भएको छ। किन त्यस्तो दृश्य  यी आँखाले हेरिरहेका छन्। किन मनलाई अन्धकार बनाई अशान्त पार्दै त्यो बादलले मजा लिईरहेको छ?  अचम्म छ समय। किन हो साथ दिरहेको छ त्यस ग्रहणलाई। किन समयले छिटो ग्रहण हटाउन नसकेको? अदृश्य देखिरहेको चन्द्रमालाई म अब कति समय पछि त्यही उत्साहका साथ पाउँछु? प्रश्न चिन्ह छ मनमा। अनेकन विचार उत्पन्न हुन्छ क्षणभरमा। आखिर किन म यसको भागिदार बनिरहेको छु? आखिर मेरो कहाँ गल्ती थियो जसले गर्दा म यति चुकी रहेको छु। 

समयले त मलाई धेरै पाठ सिकायो। अहिले पनि सिकाउदै छ पर्खनलाई, धैर्यता कायम गर्नलाई। म भने सायद बढी भाबुक भएको हुला तर आशावादी बनी माथि गगनमा पारी क्षितिज सम्म हेरिरहेको छु। एक पटक त त्यो बादल ले घेरा हाल्न छोडला। चाँडै त त्यस ग्रहण हटला अनि साथ दिएला मेरो।  चन्द्रमाको मुहारमा उज्यालो पुन: आउनेमा विश्वस्त छु। विश्वस्त छु समयको परिभाषा बुझ्न। समय चक्र जस्तो चलोस आज सम्म ग्रहण यति लामो लागेको थाहा थिएन। 

सायद चन्द्रमा र म बिचमा ग्रहणले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो उपस्थिति दर्ता गराउन खोजेको होला। तर म पनि कहाँ हार मान्छु र हेरौ कहिले सम्म हाम्रो मिलनमा ग्रहण भिलियन हुन्छ। सिसा टुक्रा टुक्रा भएर फुटे झै ग्रहणको घमण्ड त्यसरीनै टुट्ने छ।  म पर्खिरहेको छु समयलाई। ग्रहण तैले जित्न पाउँदैनस्। मलाई थाहा छ चन्द्रमा मेरो खुशी चाहन्छ। पक्कै पनि मलाई निरास र निरस बनाउने छैन।

तपाईँको मत