गाउँ सहर

नेपाल टेलिकमले ल्यायाे अल नेट भ्वाइस प्याककाे नयाँ अफर

काठमाडाैं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक (All Net Voice Pack) उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक (All Net Voice Pack) उपलब्ध गराउन लागेको हो । यसका साथै सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । 

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको टेलिकमले जनाएकाे छ ।  

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा रु. २५ मा खरिद गर्न सकिन्छ । साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । 

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । रु. ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ । अब रु. ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ ।

साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ । रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने जनाइएकाे छ । 

नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् रहेका छन् । 

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत