कला

लघुकथा : रहस्य

"तिमीबिनाको पल त मेरो लागि धड्कनबिनाको मुटुजस्तै हुन्छ ।" उसले सधैँ मसँगको भेट वा वार्तामा भन्थी ।

"मलाई पाइनौ भने के गर्छ्यौ ?"

"तिम्रो घरको ढोकामा झुण्डेर मर्दिन्छु ।"

मेरो प्रश्नको उत्तरमा ऊ गुराँसजस्तै रातोरातो मुख बनाएर रुन्चे स्वरमा भन्थी । उसले मात्रै होइन म पनि उसलाई आफूलाई भन्दा बढी माया गर्थें ।

रहँदाबस्दा मेरो परिवारको कमजोर आर्थिक अवस्था उसको र मेरो प्रेममा तगारो बन्यो । उसको सिउँदो पराइको हातले हालेको सिन्दुरले सजियो ।

उसको र मेरो भेट नभएको वर्षौँ भइसकेको थियो । एकपटक एक्कासि हाम्रो भेट काठमाडौँको व्यस्त सडकको जाममा भयो । तर उसले मलाई जन्मजात शत्रुलाई जसरी रिसाएर क्वारक्वार्ती हेरी । म अन्जानमै मुस्कुराएँ तर उसले मुन्टो बटारी । एकैछिनमा ट्राफिकले सुइँय्य सिट्ठी फुकेपछि ऊ चढेको मोटरसाइकल हुइँकियो । म पछाडि फर्केर हेर्दै थिएँ , ऊ एकाएक मेरो आँखाबाट ओझेल परी । मन भारी भयो । म सोफामा पल्टेँ र विगतसँग हराउन थालेँ ।

"ए साँच्चि ! आज बुबाको दराजका लुगा मिलाइदिँदा, तपाईंको नामको चिठी भेटेको थिएँ ।" बूढीको बोलीले म झसङ्ग भएँ । बाहिर खाममा पठाउनेको नाम थिएन । हत्तपत्त खोलेर हेरेँ । उसैले ११ वर्ष अगाडि पठाएकी चिठी रहेछ । लेखिएको रहेछ, "तिमीबिना मेरो जीवन सम्भव छैन । तिमी भोलि बिहानै बसपार्कमा आऊ । तिमी र म भाग्नुपर्छ ।"

चिठीको अर्कोपट्टि लेखिएको रहेछ, "मलाई माफ गरिदे छोरा । तँलाई तह लाउनको लागि उसका परिवारले ठाउँ ठाउँमा गुण्डा राखेका छन् रे । त्यही भएर तेरो हातमा पर्नुअगाडि नै चिठी लुकाइदिएँ ।" मेरा बुबाले लेख्नुभएको रहेछ ।

बूढानीलकण्ठ काठमाडौँ २०७८-११-३०

तपाईँको मत