भारतमा कोभिड सङ्क्रमण बढेसँगै सीमा नाकामा नेपाल फर्कनेको भीड
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १०:५१:०० मा प्रकाशित

महोत्तरी । कोरोना सङ्क्रमण त्रास बढेसँगै सिमा नाकामा घर फर्कनेको भीड लाग्न थालेकाे छ । राेजगारका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका हुन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको भीड बढेकाे छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या धेरै रहेकाे छ ।
नेपाल–भारत सीमा दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।
जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।
सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ । मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।
भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो । नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक बजार लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् । भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ । यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस