राजनीति

रामेछापमा पनि मनाइयो राष्ट्रिय मेलमिलाप दिवस, गाउँ गाउँमा कांग्रेसकाे सक्रियता बढ्दै

रामेछाप । नेपाली कांग्रेस रामेछापले शुक्रवार ४६ औँ ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । 

शुक्रबार दाेरम्बा शैलुङ गाउँपालिका नेपाली कांग्रेस गाउँपालिका कार्य समितिद्वारा टोकरपुरमा गाउँपालिका सभापति केशव लामाको अध्यक्षता तथा जिल्ला कार्य समिति सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता, ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य डिकबहादुर तामाङको उपस्थितिमा मनाइएकाे हाे । 

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला कार्य समिति सभापति पूर्णबहादुर तामाङले सबैले बिपी कोइरालाको विचारलाई सम्झनुपर्ने बताए । उनले पार्टी, विधान, दस्ताबेज बीपीकोे विचारमा आबद्ध रहेको बताए ।

संविधानलाई लोकतान्त्रिक बनाउँदै गर्दा बिपीको विचार, समावेशितालाई लिएर राष्ट्रलाई समावेशी बनाएको तामाङ भनाइ थियो । नेपाली काङ्ग्रेसको बहुमत सरकार बनेपछि मात्र आर्थिक उन्नति, आर्थिक रूपान्तरण, सामाजिक रूपान्तरणका कुराहरू सम्भव हुने उनले दाबी गरे । 

निवर्तमान जिल्ला सभापति लवश्री न्याैपानेले कांग्रेस सदैव एकापसमा मेलमिलाप, सद्भावको पार्टी भएको जिकिर गरे । न्याैपानेले कांग्रेसभित्र मात्र नभएर समग्र मुलुकमा वीपीको योगदार अविस्मरणीय रहेको उल्लेख गरे।

उनले हिंसामा विश्वास नराख्ने वीपीको राष्ट्रिय एकता तथा मेलमिलाप भावनाले सबैलाई एकसूत्रमा बाँधेको बताए ।

कांग्रेस जिल्ला सभापतिका प्रत्यासी कृष्णबहादुर महतले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गरे । 

कार्यक्रममा पूर्वपार्टी उपसभापति एवम महाधिवेशन प्रतिनिधि  जितेन्द्र कुमार मोक्तानले भने, प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाे तथा राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको बताए ।

माेक्तानले नेपाली कांग्रेसको विधानको धारा ४ (क) (२) अनुसार प्रदेश 'ख' को कोषाध्यक्षमा निर्वाचित शंखरलाल लामालाई बधाई दिँदै कार्यकालकाे शुभकामना दिए । उनले थपे- 'पार्टीमा छलफलको क्रममा उठेका प्रसङ्गहरू चल्ला र अण्डाको सन्दर्भ जस्तै हो विवाद नगरौँ । नेविसंघ लगायतका भातृ संगठनको नेतृत्व बिकास र विस्तारबारे पार्टीले निर्णय गर्न ढिलाइ गर्नु हुन्न, जिल्ला पार्टी सभापतिका तीन वटै प्रतिस्पर्धी एउटै मञ्चमा हुनु, एक हुने प्रण गर्नु, नवप्रवेशिको स्वागत र उचित जिम्मेवारी दिने प्रतिबद्धताबाट पार्टी चुक्दैन, नेकपा एमालेमा नाम पढ्ने परिपाटी स्थापित भएको छ जुन लोकतान्त्रिक छैन नगण्य पदमा भएको चुनावी प्रतिपर्धाबाहेक नेताको मुखले नै पदीय जिम्मेवारी तोकेको पाइयो, नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र पार्टी नेता शेखर कोइराला स्वयंले महाधिवेशन प्रतिनिधिको सम्मान गर्दै भोट मागेको पाइयो, भ्रष्टाचारी कम्युनिष्टलाइ भ्याकुम लगाएर नै बढार्ने, आफू दुर्घटनामा घाईते भै उपचाररत अवस्थामा पनि महाधिवेशन प्रतिनिधिमा बिजयी गराउनु भएकोमा मतदाताप्रति आभार व्यक्त गर्दछु ।'

महाधिवेशन प्रतिनिधि तथा नेता विद्यासागर योञ्जनले  मेलमिलाप दिवसकाे सान्दर्भिकता अहिले झन बढ्दै गएकाे उल्लेख गरे । 

नेता याेञ्जनले मेलमिलाप दिवसको सन्दर्भबारे थप प्रष्ट पार्दै भने, ‘संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो । यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ । परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ ।’

उनले पार्टी संगठन पुनर्जीवित गर्न भातृ संगठनहरूकाे समयानुकूल अधिवेशन गरिनुपर्ने, पार्टीको प्रभाव देखाउनका लागि पनि विशाल आमसभा जरुरी, नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम दिईनुपर्ने, नेतृत्व विकास र वाचन कलामा पार्टीले ध्यान दिनुपर्नेमा जाेड दिए ।

‘हातेमालो गरेर अघि बढ्नुकाे विकल्प नभएकाेले सबै एक ढिक्का बनाउन संयुक्त शक्ति निर्माण गर्नुपर्द्छ । एकताबद्ध हुन जरूरी छ । हामी आफ्नै कारणले चुनाव नहारौँ, एउटै नारा होस् कांग्रेस जिताउँ अभियान, म पार्टी संगठनको लागि फर्केको छु, २०५१ को सन्दर्भमा हेर्दा कांग्रेस संगठन राम्रै थियो, गणतन्त्र आएपनि जनताको झुपडीमा परिवर्तन छैन, डोको नाम्लो थाप्लोमा छँदैछ, कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामा धनवाद आएछ, केपी ओली कम्युनिष्ट पार्टीका अन्तिम प्रधानमन्त्री बनून्, गरीबीको नाम बेचेर कम्युनिष्टहरूकाे महल बनेकाे छ, अब भ्रष्टको पत्तासाफ गरौँ, गरीबीको नारा बेच्न छौडौँ, म केही समय पलाएन भएपनी संगठनमा इटा थप्न आएको छु, विदेशमैँ भएपनि पार्टीको संगठनप्रति सक्दो योगदान गरेकै थिएँ । सक्षम र योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिउँ । कोरोना महामारीमा पनि जिल्ला पार्टी कार्यालयको निर्माणमा सक्दो सहयोग गरेको छु, पद खोस्न खोज्यो नभन्नु सबैको मन जितेर काम गर्ने प्रयास गर्दछु । कार्यक्रममा बागमती प्रदेश सदस्यहरू, जिल्ला कार्यसमिति, महाधिवेसन प्रतिनिधि, प्रदेश प्रतिनिधि र भातृ संगठन स्थानीय नेता तथा कार्यकर्ता लगायतको बाक्लाे उपस्थिति रहेकाे थियो ।

नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले हरेका वर्ष पुष १६ गतेका दिन ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँने गर्दछ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएकाे छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भरखरै सम्पन्न भएकाे छ । महाधिवेशनपछि गाउँ गाउँमा कांग्रेस नेता तथा कार्यकर्ताहरूकाे सक्रियता बढ्न थालेकाे छ । रामेछापमा पनि पछिल्लाे समय कांग्रेसकाे सक्रियता बढेकाे छ । (तस्बिर- उपसभापति लेखबहादुर कार्कीकाे फेसबुकबाट साभार)

गाउँ सहर संवाददाता

तपाईँको मत