राजनीति

आगामी ६ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने लिङ्देनकाे घाेषणा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् ।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘म लगायत सबैले काम गरेर देखाउनु पर्छ, कसैप्रति पूर्वाग्रह राखिन्न,’ उनले भने ।

‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु,’ लिङ्देनले भने ।

विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कता लाग्यो भन्ने आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने उनले बताए ।

विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे ।

राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले भने, ‘समावेशी, समृद्ध नयाँ नेपाल बनाउने नारा थियो । तर, हाल पद्धति र पात्र दुवै असफल भएका छन् । नेता र व्यवस्था माथि नै जनताको विश्वास टुटेको छ । त्यसैले राजा सहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक भएको छ ।’

उनले भने, ‘राप्रपाको विकासक्रममा राप्रपा नेपालको महत्वपूर्ण योगदान छ भनिन्छ तर, दुःखको कुरा पार्टीको जग हाल्ने, विचार र संगठनलाई अडाउने राप्रपा नेपालका संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्माको सम्मानमा कञ्जुस्याई भएको आभाष हुन्छ । पार्टी र विचारमा योगदान गर्ने सबैको सम्मान हुनुपर्छ, यसमा सुधार आवश्यक छ ।’

पार्टी स्थापनाको चुनौतिपूर्ण समयतर्फ फर्कदै नेता लावतीले भने, ‘आज भन्दा १४ वर्ष अघि विर्तामोडमा विचार बोकेकै कारण अध्यक्ष राजेन्द्र लिङदेन, म आफैं, टेक नारायण राजवंशी, रोहित राजवंशी, कल्यान खड्का, भूपेन्द्र लिङदेन लगायतमाथि भौतिक आक्रमण भएको थियो ।’

उनले भने, ‘त्यस बखत भीडले रवीन्द्रनाथ शर्मालाई गणतन्त्रको पक्षमा नारा लगाउनुहोस् तपाईँको हर्कबढाई गर्छौं भने । तर भीडले गणतन्त्रको पक्षमा नारा लगाउँदै गर्दा, नेता रवीन्द्रनाथ शर्माले एक्लै राजसंस्था जिन्दावादको नारा लगाए, लागइरहे ।’

झापा जिल्ला अध्यक्ष केशव ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य राजेश गिरी, प्रदेश नं १ का प्रमुख राम थापा, झापाका पूर्व जिल्ला अध्यक्ष अमर विष्ट लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न दल परित्याग गरी ५४६ जना राप्रपामा प्रवेश गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत