राजनीति

गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा अपिल गरेका छन् ।

९ जिल्लाबाट अध्यक्षहरू संयुक्त रुपमा वक्तव्य जारी गर्दै कारबाही फिर्ता गरी तत्काल साविककै पदमा पुनर्बहाली गर्न माग गरेका हुन् ।

गिरीलाई पदमुक्त गर्दा कर्णालीमा पार्टी संगठन कमजोर बन्ने भन्दै उनीहरुले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ता लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् ।

गिरी पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका थिए । पार्टी सञ्चालनको विषयलाई लिएर चार जना पदाधिकारीले जारी गरेको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले पदमुक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

आफूमाथि प्रश्न उठ्न थालेपछि लिङ्देनले सामाजिक सञ्जालमा समेत पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् । त्यसो गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

पदमुक्त गरिएका गिरीले आफूमाथिको कारबाही अवैधानिक भएको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन् ।ध्यानाकर्षण पत्रमा भनिएकाे छ- 'उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्ने कार्यले यस कर्णाली प्रदेशमा यसै त कमजोर संगठन एकातर्फ थप कमजोर हुने अवस्था छ भने अर्कोतर्फ कार्यकर्तामा निराशा बढेको छ । यस प्रकारको कार्यप्रति हाम्रो असहमति व्यक्त गर्दै पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उहाँलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा नेता गिरीलाई पूनर्स्थापना गर्न केन्द्रीय अध्यक्षज्यूको ध्यानाकर्षण गराउँदछौं ।'

कारबाही फिर्ताको अपिल गर्नेहरु :

१. कृष्ण विक्रम शाह, अध्यक्ष, जाजरकोट
२. भक्त बहादुर शाही, अध्यक्ष, दैलेख
३. हंश बहादुर मल्ल, अध्यक्ष, कालिकोट
४. राज बहादुर मल्ल, अध्यक्ष, मुगु (सहमति दिएको, प्राविधिक कारणले हस्ताक्षर प्राप्त नभएको)
५. बेद बहादुर शाही, अध्यक्ष, जुम्ला
६. विनोद कुमार शाह, अध्यक्ष, रुकुम पश्चिम
७. प्रेम बहादुर रावत, उपाध्यक्ष, हुम्ला
८. सल्यान, जिल्ला अधिवेशन सम्पन्न भएको, अध्यक्ष चयन हुन बाँकि
९. अन्जु बस्याल, उपाध्यक्ष, सुर्खेत

गाउँ सहर संवाददाता

तपाईँको मत