डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १०:५९:०० मा प्रकाशित

काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिएका छन् ।
प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरी डेकेन्द्र थापा मुद्दाको अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, मुक्ति भनिने बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछाने फरार थिए ।
कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो ।
कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेल तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।
तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २०६१ साउन २७ गते दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए । हत्यापछि शव लुकाइएको थियो ।
शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा थापाको कङ्काल उत्खनन गरी डिएनए परीक्षण गरिएको थियो । निर्दोष पतिको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै डेकेन्द्र पत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्याल दैलेखमा किटानी जाहेरी दिएका थिए ।
उक्त जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । जिल्ला अदालतले २०७१ मङ्सिर २१ गते हत्यामा संलग्न नौमध्ये निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्ष्मीराम घर्तीमगर र वीरबहादुर केसीलाई कैद सजाय सुनाउनुका साथै फरार अभियुक्तका हकमा यो मुद्दा मुल्तबी राखिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस