गाउँ सहर

नगरपालिका प्रहरी र दमकल टोलीलाई अग्नि सुरक्षा तथा आपतकालीन प्रतिकार्य तालिम

काठमाडौँ। स्वयंसेवक कोर नेपाल (VCN) ले फायर एन्ड रेस्क्यु एकेडेमी नेपाल (FARA Nepal) को प्राविधिक साझेदारीमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरपालिका प्रहरी र दमकल विभागका कर्मचारीका लागि दुईदिने अग्नि सुरक्षा तथा आपतकालीन प्रतिकार्य तालिम सम्पन्न गरेको छ।

असार ८ र ९ गते सञ्चालन भएको तालिममा १७ जना नगरपालिका प्रहरी र ८ जना दमकलकर्मी गरी २५ जनाको सहभागिता रहेको थियो। तालिममा अग्नि विज्ञान, आगो नियन्त्रणका विधि, उद्धार कार्य, अग्नि सुरक्षा प्रणाली, श्वासप्रश्वास उपकरणको प्रयोग, आपतकालीन प्रतिकार्य योजना तथा प्रत्यक्ष आगो नियन्त्रण अभ्यास (लाइभ फायर ड्रिल) सम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिम समापन समारोहमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले दक्ष पहिलो उद्धारकर्मी तयार पार्न यस्ता तालिम प्रभावकारी हुने बताउँदै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रशिक्षकहरूलाई सम्मानस्वरूप मायाको चिनो पनि प्रदान गरिएको थियो।

आयोजक स्वयंसेवक कोर नेपालका अनुसार तालिमले सहभागीहरूको अग्नि नियन्त्रण, उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गरेको छ। स्थानीय तहको आपतकालीन प्रतिकार्य क्षमता सुदृढ बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत