नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज, कार्यकर्तामा उत्साह
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | ०७:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ ।
दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाट्न हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।
कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन् ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।
सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय पर्सी बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ : १५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ ।
कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।
काेकाे शीर्ष नेता आउँछन् ?
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीले बताए । समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।
मित्रराष्ट्रबाट सन्देश
महाधिवेशनमा शुभकामना दिनका लागि भारतबाट तीन जना नेता काठमाडौँ आइपुगेका छन् । स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीका अनुसार भारतीय जनता पार्टीका नेताद्वय पूर्वमन्त्री डा. हर्षबद्र्धन र लोक सभा सदस्य हरिश द्विवेदी काठमाडौँ आएका छन् ।
त्यसैगरी भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवं पूर्वकेन्द्रीय मन्त्री मुकुल वासनिक पनि आइपुगेका छन् । बुढाथोकीले भने, “विभिन्न देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भइरहेको छ तर कोभिड–१९ प्रकोपलाई दृष्टिगत गरी नेताहरू चाहिँ तीन जना मात्रै आउनुभएको हो । ”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस